माटाको पाला बनाउन व्यस्त झापाका कुमाल समुदाय

सारांश :

झापा । बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो ।


कुमाल समुदायसँग पुर्ख्याैलीरुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ । तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन् । युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् । स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरो र गाग्री कोसी प्रदेशका १४ वटै जिल्लामा पुर्याइने बताईन । “दिनरात मिहेनत गरिरहेका छौँ”, उनले भनिन्, “तराई र पहाडका सबैजसो बजारमा पुर्याउँछौँ ।”

बाह्रदशीमा कुमाल समुदायका ६० परिवारले यस वर्ष एक करोडभन्दा बढी मूल्यको माटाका सामग्री बिक्री गर्ने लक्ष्य लिएका छन् । खेतीपातीले मात्र जीविका नचल्ने भएकाले छोराछोरीको पढाई र अन्य खर्च धान्न माटाका भाडावर्तन बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिइएको चम्पादेवीले बताइन् । यसले पेसा संरक्षण हुनुका साथै पुस्तान्तरण पनि हुँदै जाने उनले उल्लेख गरिन् ।

उनले पछिल्लो समय आयातीत विद्युतीय सामग्रीका कारण माटाका सामग्रीको असर बजारमा परेको बताइन् । यहाँ हरेक परिवारले दुई लाखका दरले पालालगायत माटाका सामान बनाउने गरेका छन् । कुमाल समुदायले उत्पादन गरेका सामग्री व्यवसायीले घरैबाट खरिद गरेर लैजाने गरेका छन् ।

अमितकुमार पण्डितले भदौदेखि तिहारलाई लक्षित गरेर पाला, कलश र धुपौराहरु बनाउन थालेको बताए । उनले झापाका अन्य पालिकामा कुमाल समुदायको पातलो बसोबास रहेको भन्दै बाह्रदशीमा सबैभन्दा बढी ६० परिवार रहेका जानकारी दिए । कुमाल गाउँका हरेक आँगनमा यतिबेला माटोबाट बनाइएका पाला घाममा सुकाइएको दृश्य मनमोहक देखिन्छ । दीपावलीदेखि छठ पर्वसम्म उनीहरुले बनाएको पाला बिक्री हुने गर्दछ । कुमाल केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रबाट माटाका भाडावर्तन बनाउने गर्दथे । तर हाल मोटरबाट चल्ने विद्युतीय चक्रबाट सामग्री बनाउने गरिएको छ ।

पाला बनाउने माटो आफैँले किनेर ल्याउनुपर्ने भन्दै माटो महँगिएका कारण उत्पादित सामग्रीबाट धेरै मुनाफा उनको गुनासो छ । एक टिपर माटो खरिद गर्न १० देखि १२ हजार तिर्नुपर्ने पण्डितको भनाइ छ ।रासस

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!