काठमाडौँ । सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्ररूपमा अघि बढाएको छ ।
गत असोज १० देखि १२ गतेसम्म आएको भारी वर्षापछिको विपदबाट प्रभावित भएकाको पहिचान, राहत तथा पुनःस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनलगायत कामलाई ‘फाष्ट ट्रयाक’मा अघि बढाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपद् प्रभावित ७१ पालिका तोकेर सङ्कटग्रस्त क्षेत्र घोषणा गरी तीन तहमा वर्गीकरण गरेर यसपाली पहिलोपटक राहत प्याकेज नै घोषणा गरी पालिकालाई राहत प्रदान गरिएको हो । यसमा क्षतिका हिसाबले पहिलो वर्गमा पर्ने पालिकालाई एक करोड, दोस्रो तहमा पर्ने पालिकालाई ७५ लाख र तेस्रो तहमा पर्ने पालिकालाई ५० लाखका दरले रकम निकासा गरिसकेको छ ।
यसका लागि ४३ करोड निकासा गरेर विपद् पुनःस्थापनका काम गरिने र तत्काल प्रणाली व्यवस्थापन, खोज उद्धार, बिजुली, पानी, नेट, बाटो सहज बनाउन उक्त रकम परिचालन हुने जनाइएको छ ।
यसअघि यसरी छुट्टै प्याकेजका रूपमा पठाइएको थिएन । विपद् व्यवस्थापन कार्यकारी समिति, परिषदबाट निर्णय गरेर मन्त्रिपरिषद्कै निर्णयमा यो काम गरिएको हो । त्यसका अलावा प्रदेश सरकारबाट पनि ती पालिकालाई रु २०, १५ र १० लाख पठाइसकिएको प्राधिकरणले जनाएको छ । मृतकका परिवारले पाउने दुई लाख पनि पठाइसकिएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले नेपाल रेडक्रससँगको समन्वयमा सङ्कटासन्न विपद् प्रभावित समुदायलाई नगद मानवीय सहयोग जारी राखेको जनाएको छ । साथै बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका विभिन्न गोदामघरबाट तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको जनाइएको छ । यसैगरी तीन आठ सय १७ परिवारलाई दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको बताइएको छ
असोज दोस्रो साता आएको उक्त विपदबाट दुई सय ५० जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । कुल १२ हजार बढी घर क्षति भएको र थप आठ हजार घर जोखिममा रहेको प्रारम्भिक आँकलन छ । उक्त विपदबाट ४६ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
निजी अस्थायी अवास निर्माणका लागि पनि सरकारी निर्णय अनुसार ५० हजारका दरले रकम पठाउने प्रक्रिया अघि बढाइसकिएको प्राधिकरणले जनाएको छ । यसका लागि लाभग्राही पहिचान गरी पुनःनिर्माणको काम गरिने र यो सबै काम फाष्ट ट्रयाकबाटै हुने प्राधिकरणले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts