काठमाडौं । हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरु गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ) ले जनाएको छ ।
इजरायली सैनिकहरूले हमास र प्यालेस्टिनी इस्लामी जिहादी लडाकू समूहविरुद्ध गाजाको सिफा र खान युनिस अस्पतालमा खोजतलास र कारबाही चलाइरहेको छ । कारबाहीका क्रममा ८०० संदिग्ध लडाकूहरूलाई हिरासतमा लिएको छ । यसमध्ये करिब ५०० जना हमास वा अतिवादी प्यालेस्टिनी इस्लामिक जिहादी समूहका सदस्य भएको इजरायली सेनाले दाबी गरेको छ ।
अस्पतालमा कारबाही सुरू भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई उनीहरूको सुरक्षाका लागि सिफा परिसर क्षेत्रमा सारिएको तथा नागरिक र कर्मचारीहरूलाई कुनै हानी नभएको आईडीएफले बताएको छ । अस्पतालको एक भवनमा हमासले सरकारी मन्त्रालयहरू, शिक्षा, आन्तरिक, खजाना र प्रहरी मन्त्रालयहरूका प्रतिनिधिसहितको सानो सरकारी प्रशासन केन्द्र स्थापना गरेको विवरणहरू इजरायली सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
खान युनुसमा सैनिकहरूले अल अमल र अल करारा छिमेकमा लडाकू समूहले खडा गरेका पूर्वाधार कब्जामा लिई विस्फोटक पदार्थहरू जफत गरिएको छ ।
अक्टोबर सातमा गाजामा हमासको आक्रमणमा इजरायली समुदायका कम्तिमा एक हजार दुई सय मानिसको मृत्यु भएको थियो भने २४० इजरायली तथा विदेशीलाई बन्धक बनाइएको थियो । नियन्त्रणमा लिएकामध्ये करिब १२० जनालाई यस पहिले गरिएको युद्धविरामका क्रममा रिहा गरिएको थियो भने बन्धकमध्ये इजरायलले ३१ जनालाई मृत घोषणा गरेको छ । एजेन्सी
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts