काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले लगानीका लागि आह्वान गरेका छन् ।
आइतबार काठमाडौंमा नेपाल लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका हुन् । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उनले बताए ।
उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले सङ्घीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे । नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको भन्दै उहाले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरे । उनले नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उत्पादन जस्ता क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको बताए । त्यस्तै उहाले वैदेशिक लगानीमा सञ्चालन भएका विभिन्न कम्पनीको हकमा नेपालमा लगानी नाफामुखी रहेको उल्लेख गरे ।
कार्यक्रममा अर्थमन्त्री बर्षमान पुनले व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले विभिन्न नीतिगत सुधार गरेको जानकारी दिए । अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार र लागानीकर्ता, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताए । अर्थमन्त्री पुनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
उनले सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको जिकिर गरे । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ता सहभागी छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts