काठमाडौँ । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा पराजित भएका छन् ।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा आइतबार भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे ।
कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् । प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन् ।
त्यस्तै पेरिस ओलम्पिक– २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ पराजित भएका छन् । साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे ।
‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो । पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएका थिए । चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते । पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए । बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे । हारसंगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts