काठमाडौँ — कोभिडको दोस्रो लहरको जोखिम कम भएसँगै घरजग्गा व्यवसाय फस्टाउन थालेको छ । गएको तीन महिनामा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत बढ्नुले पनि त्यसलाई पुष्टि गर्ने जानकार बताउँछन् ।
गत भदौमा यस क्षेत्रमा प्रवाह भएको कर्जा २.३ प्रतिशत मात्र बढेको थियो । गएको तीन महिनामा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले करिब १६ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । यसअनुसार गत असोजसम्म रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो ८.७ प्रतिशत बढी हो । गत असारमा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह १ खर्ब ८३ अर्ब ६१ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको तीन महिनामा यस्तो लगानी २.१ प्रतिशत घटेको थियो ।