कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ? सञ्जालमा भाइरल भएको भिडियोको वास्तविकता के हो ?

सारांश :

काठमाडौँ । दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हात्ती एउटा टुलमा चढ्दै ट्रकमा उक्लिएको देखिन्छ । जुन दृश्य निकै नै भावुक छ ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओलाई ‘नेपालबाट कतार पठाउन लागिएको हात्ती’ भन्दै सेयर गरिरहेका छन् । तर, त्यो सत्य भने होइन् । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण सकिए लगतै बुधवार स्वदेश फर्किएपछि उनीसँगै हात्ती पनि पठाइयो भन्दै अफवाह फैलाइएको छ । जब की कतारलाई उपहार दिने भनिएका हात्ती चितवनमै रहेका छन् । उपहार स्वरुप कतार पठाउन लागि हात्ती छानेर तयार पनि पारिएको छ । कतारमा बाँकी जीवन बिताउने भाग्य बोकेका हात्ती हुन् साढे ५ वर्षकी रूद्रकली र साढे ४ वर्षको खगेन्द्रप्रसाद । उनीहरू चितवनमा तालिम लिएर हुर्कँदै छन् । उमेरले दुबै ५ वर्षको हाराहारी पुगे र, दुवै ज्ञानी पनि छन् । भनेको मान्छन् । त्यहाँ पुग्ने पर्यटकलाई माउतेको इसारामा माला लगाईदिन्छन् र सुँड शिरमा राखेर आशिर्वाद पनि दिन्छन् ।

यस्ता ज्ञानी हात्तीका बच्चा (छावा) सरकारले कतारलाई दिने निर्णय गरेसँगै अब ती हात्ती कसरी र कहिले लैजाने भन्ने विषयमा चर्चा छ । यसको कानुनी पाटो र लैजाने मार्गका विषयमा धेरैको जिज्ञासा छ ।

अहिले भाइरल बनिरहेको भिडिओमा भावुक बनेका नेपालीहरूले भावुक कमेन्ट गर्दै सरकारको विरोध पनि गरेका छन् । उक्त भिडिओ मार्च २८ अर्थात् गत चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले पहिलोपटक हालेको देखिन्छ । भिडिओमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।

कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्तीलाई कतै पठाइएकै छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्नेछ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेनदेन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन । अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरू नपठाएको अधिकारीहरूको भनाई छ ।

खगेन्द्रप्रसाद र रुद्रकली निकुञ्जभित्रनै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी हात्ती हो । २०७६ असोज ८ गते कोशीकलीबाट खगेन्द्रप्रसाद र २०७५ असोज २३ गते आमा पूजाकलीबाट रुद्रकलीको जन्म भएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीको बाबु भने रोनाल्डो नामबाट चर्चित जंगली हात्ती हो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!