काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको नेतृत्वलाई केही दिनमै पूर्णता दिइने बताएका छन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उनले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समिति सदस्य चाँडै नियुक्त गरिने विश्वास व्यक्त गरे । उनले भने,“पर्यटन बोर्डको नेतृत्व अन्तिम चरणमा पुगेको छ । बोर्ड गठनलाई पूर्णता दिएपछि लगत्तै सिइओ नियुक्ति प्रक्रियालाई पनि पूर्णता दिन्छौँ । पर्यटन क्षेत्रले नेतृत्वतहमा महसुस गरेको अभावलाई पूरा गर्न चाँडै लाग्छौँ, म मन्त्रीको हैसियतले प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रममा पूर्वपर्यटन सचिव दीपेन्द्र पुरुष ढकालदेखि पर्यटन व्यवसायीले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने बोर्ड अहिले नेतृत्वविहीन र कमजोर अवस्थामा रहेको भन्दै चाँडो नेतृत्व प्रदान गरी प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री समक्ष आग्रह गरेका थिए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले चार वर्षे कार्यकाल पूरा गरी गत माघ १४ गते अवकास पाएपछि पद रिक्त रहेको छ । तीन जना बोर्ड सदस्य पनि खाली रहेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोर्ड स्थापना भएको थियो ।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुरुप अन्तर्राष्ट्रिय जगतमा नेपाललाई एक आकर्षक पर्यटन स्थलको रुपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्नका लागि बोर्ड स्थापना गरिएको हो । बोर्डमा निजी क्षेत्रका पाँच र सरकारीबाट पाँच जना गरी १० जना, एक जना सिइओ गरी ११ सदस्य रहन्छन् । पर्यटन सचिव बोर्डको अध्यक्ष रहने प्रावधान छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts