काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलेजका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताइन् ।
“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।” साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।
‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’
सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन् ।
पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत् जनाएको छ । “सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरुले निष्ठापूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts