मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन

सारांश :

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गरेका छन् । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएसँगै मर्मतका क्रममा रहेको सो सङ्ग्रहालयको मन्त्री तामाङले स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनको भनाइलाई उद्धृत गर्दै भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीका अनुसार मर्मतको काम चाँडो सकेर सर्वसाधारणका लागि खुल्ला गर्न निर्देशन दिएका छन् । यस बङ्गलाको महत्व  बुझाउनका लागि पनि सर्वसाधारणका लागि चाँडो खुल्ला गर्नुपर्ने उनको भनाइ थियो ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्ष्यित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयको मर्मतको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । रङ्गरोगन र सामान्य कामहरु बाँकी रहेको उनले जानकारी दिए । वर्षातको समयमा बङ्गला सञ्चालनमा ल्याउनका लागि कठिन हुने भएकाले सर्वसाधारणका लागि खुल्ला केही समय पछि गरिने लामाले बताए ।

यसको मर्मतसम्भारका लागि रु ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेर काम गर्दै आएको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ-याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा नेपाल ट्रष्टको इकाइ चलेको छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैँचा अहिले पनि जस्ताको जस्तै छ । राजपरिवार हुँदा दरबारको महत्व नै फरक खालको थियो । जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!