काठमाडौँ । सङ्घीय संसदका ६ वटा संसदीय समितिका बैठक आज बस्दैछन् । कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हाे ।
सङ्घीय संसद् सचिवालयले जनाए अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबार बस्दै छ । बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुनेछ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यक्रम छ ।
यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरिने तयारी छ । सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएकाे छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts