आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु भएको छ ।
देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा यस पटक दुई दिनको दिन छुट्टाइएको हो । कानूनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगको भनाई छ । त्यस्तै वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।