निर्वाचन आयोगले स्थानीय तहको उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेद्वारवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको र दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।
आयोगले आइतबार र सोमबार स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वरी दर्ताको समय तोकेको छ । कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अव उम्मेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको जानकारी दिए ।
उहाले यातायातको सुविधा नभएको ठाउँमा १९ गतेभित्र मतपत्र पठाइसकिने बताउनुभयो । थपलियाले ७७ जिल्लाका ७७ किसिमका मतपत्र हुने तथा भक्तपुर जिल्लाका चार नगरपालीका र ६ महानगरको मतपत्र १७ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशित भइसकेपछि छाप्न पठाइने जानकारी दिएका छन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बढीमा १५ दिन प्रचारप्रसारको समय दिन सकिने भएपछि सो अवधी घटाउनुपर्ने राय आएकाले ११ दिन दिइने उनले बताए । त्यस्तै उनले एउटा पार्टीबाट चूनाव जितेका व्यक्ति अर्को पार्टीमा गएमा वा पार्टीले कारवाही गरेको पत्र दिएमा १५ दिनमा हटाउने व्यवस्था रहेको उल्लेख गरे ।
त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने र आचारसंहिता बिपरित कार्य गर्नेलाई कारवाही गर्ने बताएका छन् । उनले उम्मेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरि मिलाउन भनिएको बताए । स्थानीय तहको निर्वाचन बैंशाख ३० गते हुँदैछ ।