बाढीपहिरोका कारण काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति

सारांश :

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायत खानेपानी आयोजनामा क्षति पुगेको हो । जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ । “बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी छ, काभ्रेमा एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ ।

कार्यालयले काभ्रेको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेको सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ  ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!