काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ ।
बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताए । उनले नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टिम भएको टिप्पणी गरे । प्रशिक्षक एनेसले नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गरे ।
नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले मलेसियाको टोलीसँग अभ्यास खेल खेलेको थियो । नेपाली टोली मलेसियाबाट सिधै बहराइन गएका हुन् ।
नेपालले पहिलो चरणको खेलमा लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । समूह ‘एच’ मा रहेको नेपालले यसअघि दुई खेल खेलिसकेको छ । नेपालले संयुक्त अरब इमिरेट् विरुद्धको अवे खेलमा ४–० गोलअन्तरले पराजित भएको थियो भने घरेलु मैदानमा भएको यमनविरुद्धको खेलमा २–० ले पराजित भएको थियो । नेपाल अङ्कविहीन छ ।
समूह एचमा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स युएई छन् । नेपाली फुटबल टोलीमा गोलकिपर किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार छन् । त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, सनिश श्रेष्ठ, सौभाग्य राई सन्जित र सुमित श्रेष्ठ छन् ।
मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अञ्जन विष्ट, दीनेश हेन्जन, समीर तामाङ, सञ्जिव विष्टहिसुब थपलिया र जिलेस्पी जङ्ग कार्की छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts