गुरुप्रति सम्मान प्रकट गर्दै आज गुरुपूर्णिमा पर्व मनाइँदै, व्यास जयन्ती पनि आजै

सारांश :

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।


‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमासमेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । 
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । 
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन् । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरुपूर्णिमा पर्व मनाउने जनाइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!