संयोग : नरेन्द्र राज भट्टराई

सारांश :

संयोग शब्दको वास्तविक अर्थ बुझ्नलाई, संयोग जुर्नै पर्ने रहेछ ।
यतिका जीवनसम्म मैले संयोग सम्झिरहेका कुराहरूमा खास मिठास रहेनछ जस्तो लागिरहेछ । एउटा संयोग, एउटा अनुभूति, क्षणभरको यात्रामा बाँचेको जीवनको एक संयोग आज तपाईंहरू माझ साट्न आएको छु ।

म सोच्छु, जीवन अचानक घट्ने घटनाहरूको सँगालो हो । जीवन अनुभूतिहरूको मिठास हो, अनि यात्रा हो । यात्रामा आनन्द हुन्छ, आनन्द नै त जीवनको सबैभन्दा ठुलो उपलब्धि हो । यी सब केही संयोगहरूको परिणाम त हो ।

“ल म क्लास भ्याउँदिन होला, तिमि जसरी पनि एटेण्ड गर है” कृष्ण दाइले पूर्वी गेट पारि जाँदै भन्नुभयो, मैले हतारमा हुन्छ भन्दै हनुमानस्थानतर्फ लागेँ ।
पसलहरू सबैजसो बन्द भइसकेका थिए, आक्कलझुक्कल केही खुल्ला पनि थिएँ होलान् । मैले बिजुली बजार पुगेपछि मात्रै थाहा पाएँ, आफूलाई भोकले च्यापेपछि । बिजुली बजार पुल छेवैमा एउटा सानो किराना पसल बन्द गर्ने तरखर गर्दै रहिछन्, मैले २० रुपैयाँको बनबन बिस्कुट लिए । पेटले त्यसको माग बढाएपछि खाँदै अगाडी बढे ।

रातो भाले नजिकैको जेब्राक्रसबाट पारि तर्ने तरखर गर्दै थिएँ, नजिकै एक ट्राफिक प्रहरी सँग संवाद गरिरहेकी महिलालाई देखेँ ।
उनीहरूबिच केही असहज वातावरण छ भन्ने महसुस भएपछि पाटन जाने बाटो कता हो दाइ भन्दै उनीहरूको नजिक गए । ट्राफिक जङ्गियो, थाहा छैन बाटो ‘पठाओ’ बोलाएर जाऊँ सिधै घर पुर्‍याइदिन्छ । यो मेरो प्रश्नको उत्तर थिएन, यद्यपि मसँग अरू कुनै विकल्प पनि नभएकाले एकैछिन हेरिरहेँ, झट्ट नारी आवाज आयो- “म पनि पाटन जाने हो।”
मेरो खास उसले बुझेको अनुभूतिले मनमा केही खुसी अवश्य पनि आयो तर मुस्कुराउने मिल्ने वातावरण नभएकाले ट्राफिकलाई हेरिरहेँ, उसले पनि मेरो शिरदेखि पाउसम्म नियाल्यो । घाँटीमा रहेको प्रेस कार्डलाई मजाले नियाल्दै थियो, “म तपाईँलाई भोलि भेट्छु है” भनेर मलाइ जाऊँ भन्ने इशारा गरेर केटी त्यहाँबाट हिँडे । मैले पनि ट्राफिकलाई धन्यवाद भनेर त्यहाँबाट निस्किएँ ।
केटी पारिपट्टि पुगेर पर्खिरहेकी थिई, म ऊसम्म नपुगी खोलापट्टि किंग्स कलेज तर्फ लागे ।
आधा भएको बिस्कुट अघि खल्तीमा राखेको थिएँ।निकालेर खान खोज्दै थिएँ। पुलामुनिबाट एउटा कुकुर आयो, आधा खाएको आधा बाँकी बिस्कुट हातमा थियो- कुकुरलाई दिन खोज्दै थिए । पछाडिबाट केटी आएर बिस्कुटको पाकेट खोसेर एउटा आफ्नो मुखमा राखी र बाँकी कुकुरलाई खुवाउन थाली । मलाई यो दृश्य हेरिरहन मन थ्यो, बिस्कुट सकिएछ । खाली खोल मेरो खल्तीमा हाल्दिँदै भनी जाऊँ अब । यति भनिरहँदा उसको हातले कुकुरको शिर मुसारिरहेको थियो । त्यो प्रेमले मन लुट्यो, म केही नबोली हिँड्ने थालेँ- मन्द मन्द मुस्कुराउँदै ।
मनले ऊ भर्खर भेटिएकी हो भन्ने मानेन, केही समय मौनतामा उसलाई पढ्ने रहर हुँदाहुँदै बोले- ‘कहाँनेर बस्छौ पाटनमा ?’
“बस्दिन म पाटन साटन ।”
त्यो रूखोपन पनि आफ्नै जस्तो लाग्यो अनि कहाँ बस्छौ त भन्न मन थियो भनिन, हेरिरहेँ ..

आठ बजे क्लास सुरु हुन्थ्यो जसरी पनि कोठा पुग्नुपर्ने सम्झिएर म हिँड्नै लागेको थिएँ, पछाडिबाट आवाज आयो ‘किंग।’ मैले झट्ट फर्किएर हेरे उसले कलेजतिर देखाउँदै भनी किंग्स कलेज हेर त त्यहाँ छ । मैले मुस्कुराउँदै उसलाई हेरेर अगाडी बढे ।
हामी बुटवल पावर कम्पनी नजिकैको पुल पुगेका थियौँ, म पुल तर्न लागेँ- उसले हत्तपत्त अगाडी आएर हात फैलाउँदै भनी – ‘कस्तो रोमान्टिक मौसम है ?’
केही सोच्नुपुर्व नै मुखबाट जवाफ फुस्कियो, ‘अब के हुन्छ ?’
मेरो बोली भुँइमा खस्न नपाउँदै जवाफ आयो- “बिहे !”
आजभन्दा अगाडी यस्तो अवस्थामा कैले परेको थिइन । के गर्नुपर्छ, के बोल्नुपर्छ भन्ने ज्ञान नभएकाले मैले चुपचाप उसको आँखामा हेरिरहेँ, उसले शिर निहुराएर मेरो घाँटीमा भएको कार्ड हेर्न थाली । ऊ मलाई चिन्न चाहन्थी कि नजर लुकाउँदै थिई ? म बुझ्ने प्रयास गर्दै थिएँ ।
ऊ बोली, -‘तपाईँ पत्रकार हो ?’
म बोले,- ‘यो कस्तो प्रश्न हो ?’
ऊ :’मतलब ?’
म: घाँटीमा पत्रकारको कार्ड लिएर हिँड्ने मान्छे अरू को हुन्छ ? हुन त म मान्छे हुँ।  पत्रकारिता मेरो पेसा हो । म रोकिन चाहन्थे तर क्लासको समय नजिकिँदै आएको हुनाले हिँड्नु पर्ने बाध्यता सम्झिएर अगाडी बढे । कानमा आवाज ठोक्कियो – ‘पत्रकार हरामी हुन्छन् क्या हो ?’
ऊतिर फर्किँदै भने- ‘किन र ?’
ऊ : ‘किन ठुस्स परेको त ?’
म : कतिपय प्रश्नहरूको जवाफ हुँदैन, समयले बताउँछ । राम्रो काम गर्नेको लागि राम्रो, नराम्रो कान गर्नेको लागि नराम्रो हुनु नै पत्रकारिताको धर्म होइन र ?
फेरी तिमी त्यति नजिक पनि छैनौँ कि म तिम्रा हरेक प्रश्नहरूको जवाफ दिऊँ । कि छौ ?
मनको हिसाबले थाहा छैन, दूरीको हिसाबले अहिले तपाईँको सबैभन्दा नजिक म नै छु ।
बोल्न ऊसँग को सकोस् । फेरी बोली अपरिचितहरूसँग खुल्दा बदनामीको डर हुन्न भन्ने थाहा छैन क्या हो पत्रकार ज्युलाई ?
अब म साँच्चै शब्दहीन भएको थिएँ । उसो त मौनता जत्तिको बलियो जवाफ अरू केही हुँदैन तर पनि बोलीको प्रभाव जमाउने प्रयास गर्दै बोलेँ, ‘के तालको मान्छे हो ?’
राम्रो मान्छे, यदि तपाईँ राम्रो हो भने भनेर फिस्स हाँसी ।
म : ‘नराम्रो देखिन्छु र ?’
ऊ : ‘रूपको कि मनको ?’
म : ‘दुवै ।’
उ : ‘दुवै त खाडीमा पर्छ ।’
मैले प्रसङ्ग बदल्न सोधेँ, ‘जीवनमा कैले प्रेम गरेको छौँ ?’
ऊ : ‘छोडेर जानेहरूलाई प्रेमी भनिन्छ हैन ? कि पर्खिनेलाई भनिन्छ ?’
हामी युएन पार्क नजिकको पुलमा पुगेका थियौँ, उसले दुई किनारलाई जोडिरहेको पुललाई हेर्दै भनी- ‘खासमा सम्बन्ध सकिन्छ कि प्रेम ?’
मैले केही नसोची भनेँ- ‘मेरो केसमा चाहिँ सम्बन्ध सकियो, प्रेम त अझै बाँकी छ ।’
उसको अनुहारले अरू नै केही बोल्यो। आवाजमा भनी बोल्यो है देवदास बोल्यो । आशा गरौँ, अब आजको बाँकी यात्रा रोमाञ्चक होला ।
म : ‘तिमीले आफ्नो प्रेम कथा सुनायौँ भने नि:सन्देह रोमाञ्चक हुन्छ ।’
ऊ : ‘सुन्ने आँट छ ? जज गर्न पाउनुहुन्न नि फेरी ।’
म: ‘म अदालतमा बसेको न्यायधीस जस्तो देखिन्छु र ?’
ऊ : ‘अन्तरवार्ता लिएर भोलि छाप्ने प्लान त छैन नि ?’
म : ‘अनुमति भयो भने त्यो पनि गर्न सकिन्छ ।’
ऊ : ‘कसैले नाचिनन्, सबैले पढुन् त्यसरी लेख्न सक्नुहुन्छ ?’
म : ‘प्रयास गरौला नि ।’
ऊ: ‘रङ्गप्रतिको तपाईँको धारणा के छ ?’
म : ‘मेरो धारणाले तपाईँको कथामा केही फरक पार्छ र ?’
उ :’कथाको पात्रले त असर छोडेर गइसक्यो बाँकी जीवनमा भेटिनेहरूसँग गुनासो गर्न मन छैन ।’
म : ‘म पाठक र श्रोता दुबैमा अब्बल छु जस्तो लाग्छ । यो आफैँप्रतिको धारणा हो, अरूप्रति धारणा बनाउन आउँदैन मलाई ।’
उ : ‘त्यसो भए सुन्नुस्’ पैतालाको चाल अलि सुस्त गर्दै बोल्न थाली।

‘आफू जस्तो छु अरूलाई पनि उस्तै सोच्छु । तपाईँलाई पनि भेटेको कति नै भयो र ? तर पनि विश्वास गरेर भन्दै छु नि । मेरो कमजोरी नै मान्छेलाई चाडो विश्वास गर्नु हो जस्तो पनि लाग्छ । खैर, अरूको लागि कमजोरी भए पनि मलाई आफ्नो राम्रो पक्ष पनि यही हो जस्तो लाग्छ । म चाबहिल बस्थेँ, काम बानेश्वर थियो । आफ्नो साधन नहुनेहरूको लागि सबैभन्दा उत्तम विकल्प भनेकै सफा टेम्पो थियो । उहाँको काम अनामानगरमा थियो, भेट्ने बहानामा सधैँजसो चाबहिल आएर मलाइ अफिस पुर्‍याएर अनामनगर जानुहुन्थ्यो ।उहाँको पनि साधन नभएकाले टेम्पो नै हाम्रो लागि भेटघाटको लागि उचित हुन्थ्यो । अफिसको कामले समय नभ्याउने भएकाले पनि त्यही टेम्पोको भेटमा हामी प्रेम बाँड्थ्यौ । सबै राम्रै बितिरहेको थियो, एक वर्ष पुगेपछि कुरा उहाँको घरमा पुग्यो।
बिहेको कुरा गर्थे म दङ्ग पर्थे ।
समय बित्दै गयो, म आफू उहाँबाट टाढा भएको महसुस गर्न थालेँ । फोन कम हुन्थ्यो, म्यासेज पनि आउन छोडेको थियो । मलाई लिन आउने जाने त कुरै छोडौँ । मलाई बढी नै चिन्ता हुन थाल्यो, बेलाबेलामा सोध्थे पनि केही समस्या छ कि? जवाफ आउँथ्यो- केही छैन । यत्ति बोल्यो कुरो टुङ्गिन्थ्यो । बेलाबेलामा फोन लगाएर भेट्न भन्थेँ, कोभिड छ राम्रो हुन देऊ भन्दै उहाँको मुखबाट जवाफ आउँथ्यो ।
मलाई एकदमै असह्य हुन थाल्यो । भित्रभित्र पोलेर बाच्न थालेकी थिएँ । फोन गरेँ, सिधै भने केही अप्ठ्यारो छ भने भन्नुस्, यसरी म बाच्न सक्दिन ! भनेर रुन थालेपछि उहाँले भन्नुभयो।
तिमि बुझ्ने मान्छे हौँ, कुरा बुझ न । यत्रो इग्नोर गरेपछि त बुझ्न पर्छ नि यार । मैले केही गर्न सक्दिन यार, घरको मान्छेले तिमीलाई मन पराएनन् । काली छौ भन्छन्, मुखमा पिम्पल आएर हेर्न लायक पनि छैनौ। तिम्रो कारणले मेरो परिवारले मलाई नै अप्ठ्यारोमा पारिसकेपछि मैले हामी छुट्टिने निर्णय गरेको हुँ ।
मलाई रुन मात्र आयो… रोई रहेँ ..फोन काटिएछ ।
कथा सकाएर उसले आँखा पुछी । मैले पनि पुछे र बोले फेरी कसैसँग प्रेम भएन ?
ऊ : अलिक रिसाएको भावमा छड्के आँखाले मलाई हेर्दै बोली- “फेरी टुटेर जुट्ने हिम्मत नै भएन ।”
उल्टै मलाई सोधी :’तपाईँले किन अर्को पटक प्रेम गर्नु भएन ?’
म : प्रेम हो नि एकैपटकमा काफी हुँदो रैछ !
ऊ : बुझेको मान्छेले अर्कोलाई किन प्रश्न गर्नु ? खुब सताउन जानेको । भनेर कुइनोले हिर्काएर अगाडी बढी ।

मैले आजित भएर चुपचाप बढ्ने सोच बनाएँ, म अगाडी बढेँ । ऊ कहिले अगाडि कहिले पछाडि गर्दै हिँडी । बाटोमा हामीबिच धेरै कुराहरू भए ।केही जीवनका केही प्रेमका, केही आशाका केही भरोसाका ।  केही क्षण यात्रामा उसले बाटो मात्रै साटिन, धेरै अनुभूतिहरू साटी । दुःख साटी, धेरथोर मन हलुका पारी । समाज र मान्छेको सोच बुझाई- आफ्नो पिडा सुनाई ।

नामले अपरिचित भएर पनि परिचितझैँ कुराहरू गरिरह्यौँ । भावना साटिरह्यौँ,बाटो काटिरह्यौँ…। हामी गन्तव्यमा पुग्यौँ र छुट्टियौ- अब फेरी भेट होला नहोला ..।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!