काठमाडौं। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा मिलेर सरकार गठन गर्ने र सहकार्य गर्ने विषयमा शनिबार सहमति भएको छ।
दुई दलले जारी गरेको सहमति पत्रमा भनिएको छ — पछिल्लो समय प्रदेश सभाहरूमा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्याहरू समाधान गर्दै जनताको चाहनाअनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन यो सहमति गरिएको हो।
सहमतिअनुसार दुवै दल प्रदेश सभामा संयुक्त रूपमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले नेतृत्व सम्हाल्नेछ।
मधेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख छ।
