समाचार

राज्य सधैं नागरिकको पक्षमा हुनुपर्छ : प्रहरी महानिरीक्षक कार्की

By अर्जुन भट्टराई •

राज्य सधैं नागरिकको पक्षमा हुनुपर्छ : प्रहरी महानिरीक्षक कार्की

जनकपुर । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राज्य सधैं नागरिकको पक्षमा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा युएनओपीएसद्वारा निर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले लोकतन्त्रमा राज्य नागरिकको पक्षमा उभिनुपर्ने कुरामा जोड दिए।

उनले भने, ‘लोकतन्त्र भनेको केवल कुरा गर्ने वा हल्ला गर्ने कुरा होइन। नागरिकले आफ्नो काम, पेशा र व्यवसायमाथि गर्व गर्न पाउनु नै साँचो लोकतन्त्र हो।’ उनका अनुसार एउटा मजदुर मजदुरी गरेर खुसी हुन सकोस् र एउटा चिकित्सक बिरामी जाँचेर सन्तुष्टि अनुभव गर्न सकोस्, त्यही वातावरण नै लोकतन्त्र हो।

महानिरीक्षक कार्कीले हरेक पेशा, धर्म र जातजातिलाई समान रूपमा सम्बोधन गर्न सकिने वातावरण बनाउनु र त्यसलाई कायम राख्नु आम नागरिक र प्रहरी दुवैको जिम्मेवारी रहेको बताए।

कानुनी शासनमा बदमासहरू डराउनुपर्ने र सज्जनहरू निर्भय भएर हिँडडुल गर्न पाउनुपर्ने वातावरण बनाउन उनले प्रहरी प्रशासनलाई निर्देशन दिए। साथै, प्रहरीले कुनै एक पक्ष, चिनजान वा दबाबमा परेर अन्यायतर्फ नझुक्न पनि उनले आग्रह गरे।

समाज र राष्ट्रमा सन्तुलन कायम राख्न सर्वसाधारण र प्रहरी प्रशासन मिलेर अघि बढ्नुपर्ने कुरामा पनि उनले जोड दिए।

जिल्ला प्रहरी कार्यालय धनुषामा ४ करोड ७१ लाख रुपैयाँको लगानीमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन निर्माण गरिएको छ। सोलार लाइट पनि जडान गरिएको यस भवनमा परामर्श कक्ष, पीडित कक्ष र बालबालिका कक्ष रहेका छन्।

यो भवनले पीडितहरूलाई ट्रान्जिट स्पटका रूपमा केही दिन बस्ने सुविधा प्रदान गर्नेछ। यसअघि कुनै पीडितलाई केही दिन राख्नुपर्दा जिल्ला प्रहरी कार्यालयले विभिन्न सामाजिक संस्था तथा एनजीओहरूको जिम्मामा पठाउने गर्दथ्यो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.