समाचार

डा. गोविन्द केसीको स्वास्थ्य जटिल, स्वास्थ्यमन्त्री मेहताको अस्पताललाई उपचार व्यवस्थापन सुदृढ गर्न निर्देशन

By अर्जुन भट्टराई •

डा. गोविन्द केसीको स्वास्थ्य जटिल, स्वास्थ्यमन्त्री मेहताको अस्पताललाई उपचार व्यवस्थापन सुदृढ गर्न निर्देशन

काठमाडौं । २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनको उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो देखाएकी छन्।

पाँचबुँदे माग राख्दै बिहीबारदेखि सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग सम्पर्क गरी प्रभावकारी उपचार व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी हुन्। साथै, मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा. केसीको हालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्।

चिकित्सकहरूले डा. केसीको हालको अवस्थामा अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुन सक्ने सुझाव दिएकाले आवश्यक परेमा थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारी पनि अघि बढाइएको छ। मन्त्रालयले उपचारको अवस्थामाथि निरन्तर निगरानी राखिरहेको जनाएको छ।

उल्लेखनीय छ, डा. केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको हो।

यसैबीच, डा. केसीका माग सम्बन्धी छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.