काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष महसुस गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र जल तथा मौसम विज्ञान विभागसहित मन्त्रालय अन्तर्गतका विभिन्न निकायका प्रमुखहरूसँगको छलफलमा मन्त्री चौधरीले यो निर्देशन दिएकी हुन्। उनले भनिन् — वर्तमान सरकारप्रति युवा पुस्ताको ठूलो भरोसा र अपेक्षा छ, त्यसैअनुसार काम हुनु जरुरी छ।
मन्त्री चौधरीले सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेस गर्न आदेश दिएकी छन्।
‘युवा पुस्ताको अपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ। मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिनाभित्र कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेस गर्नुपर्छ,’ उनले स्पष्ट पार्दै भनिन्।
मन्त्री चौधरीले कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका युवालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिइन्।
छलफलका क्रममा विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिक बिनाका इन्टर्नसिप र स्वयंसेवा कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए।
