राजनिती

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा बोलिन् मन्त्री चौधरी

By अर्जुन भट्टराई •

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा बोलिन् मन्त्री चौधरी

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौं मन्त्रिस्तरीय बैठकमा नेपालका प्राथमिकता प्रस्तुत गरिन्।

बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका क्षेत्रमा नेपालले गरेका प्रयासबारे जानकारी दिइन्।

उनले भनिन् कि नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको सबैभन्दा बढी मार भने नेपालले नै भोगिरहेको छ। यसकारण जलवायु न्याय, सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासमा अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले सामुदायिक वन व्यवस्थापन, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जा र प्रकृतिमा आधारित समाधानलाई नेपालका सफल अभ्यासका रूपमा प्रस्तुत गर्दै वातावरणमैत्री उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच दिलाउन आग्रह पनि गरिन्।

बैठकका क्रममा उनले यूएन ईस्क्यापकी कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानासँग भेटवार्ता गरी जलवायु परिवर्तन, दिगो कृषि, जैविक अर्थतन्त्र, कार्बन बजार र प्राविधिक सहयोग विस्तारका विषयमा छलफल गरिन्।

सोही अवसरमा बंगलादेशका वातावरणमन्त्री अब्दुल आवाल मिन्टूसँग भएको भेटमा कृषि आधुनिकीकरण, जैविक अर्थतन्त्र, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.