‘बुद्धमूर्ति तोडफोडको कुनै औचित्य छैन’

नेपालको परिचय दिँदा सामान्यत: विविधताले भरिपूर्ण र अनेकतामा एकता भएको एक सुन्दर देश भनिन्छ। यसरी परिचय दिनुका पछाडिको सोच भनेको नेपालको पहिचान यही रूपमा प्रस्तुत गर्नुपर्छ वा विश्वसामु यसरी नै अगाडि बढाइनुपर्छ भन्ने हुनुपर्छ। अलिकति पनि तलमाथि पारिनु हुँदैन भन्ने आग्रह पनि यस वाक्यमा पाइन्छ। घटना र प्रवृत्तिहरू नियाल्दा भने कथनी र करनीमा विरोधाभास पाइन्छ। यी अवस्थालाई विसङ्गति मानेर तिनको निराकरण गर्दै जानु आवश्यक छ।
वैशाख पूर्णिमाका दिन नेपालमा ‘बुद्ध जयन्ती’ भनेर राष्ट्रिय पर्वको रूपमा मनाउने चलन आजभोलि संस्कृतिकै रूपमा विकास हुँदै गएको छ। २०६८ सालको जनगणनाअनुसार ९ प्रतिशत मात्रै बौद्ध धर्मावलम्बी भएको नेपालमा बुद्ध जयन्तीको संस्कृति यति व्यापक रूपमा विकास हुँदै जानु आफैंमा अपूर्व सद्‌भाव हो। नेपाली समाजमा यसरी सद्भाव बढोत्तरी हुँदै गइरहेका वेला ‘हलुवामा बालुवा भेटिए’ जस्तै भेटिने घटनाहरूले भने सोच्न बाध्य पारिरहेका छन्। गत वैशाख पूर्णिमाका दिन धनगढीको सडकमा ठड्याइएको बुद्ध मूर्ति तोडफोड गरिएको घटनाले मलाई यसरी सोच्न बाध्य बनाएका हो।
विभिन्न धर्ममा मूर्तिहरूले आआफ्नै अर्थ राख्छन्। कसैका लागि मूर्ति साक्षात् भगवान् नै हुन्छन् र त्यसको पूजा आराधना गरिरहेका हुन्छन्। कुनै धर्मविशेषमा मूर्तिको पूर्णत: निषेध हुन्छ। बौद्ध धर्ममा कुनै पनि मूर्तिलाई साक्षात् भगवान मानिंदैन र मूर्तिको पूजा आराधना पनि गरिँदैन तर मूर्तिको प्रयोग भने गरिएको पाइन्छ। बौद्ध विहारलगायतका स्थानहरूमा मूर्ति प्रतिष्ठापन गरिन्छ। बौद्धहरू बुद्ध मूर्ति सामुन्ने बसेर दुई हात जोडी नमन गर्ने; पञ्चाङ्ग वा साष्टाङ्ग दण्डवत् गर्ने; धूपबत्तीलगायत पुष्प र पानी आदि पनि चढाउने गर्दछन्। यसलाई मूर्ति पूजा होइन भन्दा अलि अनौठो र असंगत कुरा लाग्न सक्छ। मूर्तिपूजाका सम्बन्धमा बौद्ध समाजप्रति असन्तुष्टि प्रकट गर्दै बुद्धले आफ्नो मूर्ति नबनाउनु भनेको तर उनैको मूर्ति बनाएर पूजा गरेको भनेर गरिने टिप्पणी वस्तुगत छैन। पूरै बौद्ध वाङ्मयमा यस्तो खालको बुद्ध वचन पाइँदैन। बुद्ध पूजाका प्रसङ्ग भने पाइन्छन्। अझ बुद्ध जीवित छँदै उनको मूर्ति बनिसकेको विवरणसमेत पाइन्छन्। एक कलाकारले स्वयं बुद्धलाई बुद्धमूर्ति चढाएको प्रसङ्ग पनि पाइन्छ। बुद्धको महापरिनिर्वाणपछि बुद्ध मूर्ति बनाउने परम्परा हराउनुको खास कारण दुरुस्त प्रतिकृति बनाउन नसकिएला र श्रद्धामा आँच आउला भन्ने मनसाय थियो। यस अवस्थामा प्रतीकहरूको पूजा गरियो। उदाहरणका लागि गृहत्याग जनाउन घोडा, बुद्धत्व प्राप्तिका लागि पीपलको रुख आदि। पछि गान्धार क्षेत्रमा बुद्ध मूर्ति बनेपछि बौद्ध समाजमा व्यापक रूपमा सुन्दर बुद्ध मूर्र्तिहरू बन्न थाले। बौद्धमार्गीहरू स्पष्ट देखिन्छन्, मूर्ति स्वयं गौतम बुद्ध नभएर आलम्बन मात्रै हुन्। आलम्बनमा पनि यतिविधि श्रद्धा हुनु वास्तवमा बुद्ध र बुद्धको शिक्षाप्रतिको आकर्षण र समर्पणको भाव मात्रै हो।
बुद्ध पूर्णिमाका दिन धनगढीको बीच बजारस्थित बुद्धमूर्तिको तोडफोड गर्दा पनि अघिपछिजस्तो बौद्धमार्गीहरूबाट खासै प्रतिक्रिया आएन। यी मूर्तिहरू बौद्धजनका लागि एक प्रकारले पढ्ने पुस्तक जस्तै हुन् र एउटा बिग्रिए आवश्यकताअनुसार अर्को बन्छन् । बौद्धमार्गीहरू मूर्तिको प्रतिष्ठापन पूजा र सूत्रपाठका लागि गर्छन् तर कसैले सजावटका रूपमा प्रयोग गरिएको दृश्यलाई भने निको मान्दैन।


जसलाई बुद्धप्रति कुनै श्रद्धा छैन, बुद्धसँग सम्बन्धित ज्ञानसँग सरोकार पनि छैन उसले बुद्धको मूर्ति सजाएर राख्नु वा तोड्नुका बीच कुनै भिन्नता देख्दैन।


बुद्ध पूर्णिमाका दिन धनगढीमा बुद्ध मूर्ति तोडिएको पहिलो घटना होइन। डेड महिनाअघि मात्रै जुगल गाउँपालिका–७ याङ्लाकोटको मुन्थला (सिन्धुपाल्चोक) मा निर्माणाधीन पार्कमा राखिएको बुद्धमूर्ति तोडफोड भयो। दुई वर्षअघि पनि लुम्बिनी नजिकै भैरहवामा राजमार्गको बीचमा बुद्ध मूर्ति तोडफोड गरिएको थियो। त्यही क्षेत्रमा बुद्ध मूर्ति हटाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मूर्ति राख्ने समूहले त अटेरी नै गरेको थियो। चारैतिरको व्यापक विरोध तथा आलोचना खप्न नसक्दा बुद्धको मूर्ति नहटाए पनि महाकवि देवकोटाको मूर्ति पनि त्यहाँ राखियो। महाकविको मूर्ति प्रतिष्ठापनका लागि बुद्धमूर्तिलाई विस्थापन गर्नुपर्ने सोच आफैंमा अनौठो छ । महाकविको नाममा स्वार्थसिद्ध गर्न खोजेको मात्रै हो भनेर बुझ्न कठिन छैन। कसैलाई विस्थापन नगरी महाकवि देवकोटाको मूर्ति राख्न खोज्दा कुनै नेपाली नागरिकले विरोध गर्लान् जस्तो लाग्दैन र त्यसका लागि ठाउँ नै नपाइने पनि होइन।
बुद्ध मूर्तिहरू लुकीछिपी किन तोड्छन् ? यो कर्ममा लाग्नेहरू को हुन्, कहाँका हुन् भन्ने प्रश्न बेग्लै हो तर यति कुरा स्पष्ट छ, ती व्यक्ति वा समूह बुद्ध, बौद्ध धर्म–दर्शन र बुद्धमूर्तिहरूप्रति द्वेष राख्छन्। बुद्ध मूर्ति तोडेर बौद्ध धर्म–दर्शनको सान्दर्भिकता र आकर्षण घटाउने मनसाय हो भने त्यसलाई बुद्ध र बौद्ध धर्म दर्शनको अज्ञानता मात्रै भन्न सकिन्छ किनभने बुद्धत्व बुद्धमूर्तिमा हुँदैन।
बुद्ध मूर्तिको प्रयोजन आलम्बन मात्रै हो। कोही विद्यार्थीलाई कक्षा कोठामा समुद्रको पाठ पढाउनु पर्‍यो भने समुद्रमा लैजानु व्यवहारिक नहोला र त्यसका लागि समुद्रको तस्बिर देखाएरै पनि समुद्रको ज्ञान दिन सकिन्छ। समुद्रको तस्बिर जसरी साक्षात् समुद्र होइन, बुद्धको मूर्ति पनि स्वयं बुद्ध होइनन्। बुद्ध गुण के कस्तो हुन्छ, कुन ज्ञानको लागि कुन मुद्रा प्रयोग गरिन्छ आदिको प्रस्तुतिका लागि बुद्ध मूर्तिको प्रयोग गरिएको हो। जसलाई बुद्धप्रति कुनै श्रद्धा छैन, बुद्धसँग सम्बन्धित ज्ञानसँग सरोकार पनि छैन उसले बुद्धको मूर्ति सजाएर राख्नु वा तोड्नुका बीच कुनै भिन्नता देख्दैन। बुद्ध मूर्ति हेरेर कुनै बेला कसैको चित्त शान्त हुने, श्रद्धा जाग्ने र शिक्षामा मन लाग्ने संभावना नभएको पनि होइन। यस अर्थमा गैरबौद्धहरूबाटै सही कसैले व्यक्तिगत वा सार्वजनिक ठाउँमा बुद्धमूर्तिको प्रतिष्ठापन गर्दा बौद्धहरू नराम्रो मान्दैनन् बरु कतिपय सन्दर्भमा स्वयं बौद्धहरू पनि सहभागी भइरहेको देखिएको छ।
धर्म–दर्शनहरू अनेक थरिका छन्। सबैका आआफ्नै दृष्टिकोण र मूल्यमान्यता हुन्छन्। आआफ्ना मान्यतामा आकर्षित गर्न अनेक प्रपञ्च निकालिरहने सन्दर्भमा गौतम बुद्धको प्रसङ्ग यहाँ सान्दर्भिक छ। कुनै बेग्लै मतवाद मान्ने व्यक्ति बुद्ध कहाँ आएर बुद्धको उपासक हुन खोज्दा बुद्धले ती व्यक्तिलाई पहिला सोचविचार गर्न र सही लागेमा मात्रै बौद्ध धर्म ग्रहण गर्न सुझाएको पढ्न पाइन्छ । अर्थात् उनी कसैले भनेको वा थोरै कुराले पारेको प्रभावको भरमा मतहरू ग्रहण वा परित्याग नगरी सुनारले सुन जाँचेजस्तै बौद्ध मतलाई जाँचेर ठीक लागेमा मात्रै ग्रहण गर्न भन्थे।
नेपालमा कुलपरम्पराअनुसार बेग्लै मतसम्प्रदाय मान्नेहरू पनि गौतम बुद्धप्रति सद्भाव राख्ने, श्रद्धा र प्रशंसा गर्नेको जमात ठूलो छ। बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा परेको कारण उनलाई आफूजस्तै नेपाली नै मानेर यसरी ग्रहण गरेको हुन पनि सक्छ। बुद्ध र बौद्ध धर्मको क्रेज विश्वमा बढ्दो छ। नेपाल र नेपालीले आफूलाई बुद्धसँग जोडेर पहिचान प्रस्तुत गर्ने यो एउटा अवसर पनि हो। अन्य मुलुकले बुद्ध र बौद्ध धर्मलाई आफ्नो सौम्य शक्ति (सफ्ट पावर) को रूपमा प्रस्तुत गरिरहेको बेला नेपाल मात्रै किन पछि पर्ने ? नेपालसँग बुद्धको जन्मस्थल लुम्बिनीबाहेक बुद्ध र बौद्धसँगै सम्बन्धित अनेक मौलिक कुराहरू पनि छन्। ती कुराहरू पनि नेपालको सौम्य शक्ति हुन्। मुख्य कुरा त बुद्ध शिक्षालाई अनुशरण गरेर जीवनयापन गर्दा आफूलाई मात्रै होइन, अरुलाई पनि हानी नोक्सानी हुँदैन र विश्वभरि हार्दिकता र आत्मसम्मानका साथ हिँडडुल गर्न सकिन्छ। नेपाल र नेपालीका लागि यो गौरवको कुरा हो।
बुद्ध र बौद्ध धर्मका सवालमा हुने केही नकारात्मक घटना र प्रवृत्ति भने हलुवामा बालुवा जस्तै छन्। कहिलेकाहिँ सानातिना नकारात्मक कुराले पनि ठूलै प्रभाव पारिरहेका हुन्छन्। बौद्ध शिक्षाको अध्ययन गर्दैमा आफ्नो कुलपरम्परा अनुसारको आस्था र विश्वास त्याग्नै पर्छ र बौद्ध मतवाद अपनाउनै पर्छ भन्ने अनिवार्यता नभएको दृष्टान्त अनेकौं छन्। यस अवस्थामा बुद्ध, बौद्ध धर्म–दर्शन र बुद्ध मूर्तिप्रति द्वेषभाव राख्नुअघि अलिकति मात्रै बुझ्ने हो भने पनि धेरै समस्याको समाधान हुने थिए। उदाहरणका लागि बुद्धप्रति द्वेषभाव राखी बुद्धमूर्ति तोडफोड भएको घटनालाई नै पनि लिन सकिन्छ। बौद्धमार्गीहरू बुद्धमूर्तिलाई साक्षात् गौतम बुद्ध मान्दैनन्, एउटा आलम्बनको रूपमा मात्रै ग्रहण गर्छन्। अर्थात् बुद्धमूर्तिको तोडफोडको कुनै औचित्य छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!