नेपालका तागतिला खाना बारे फैलाइएका भ्रम

गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि !


फलफूल खाए चिसो लाग्छ; हरियो सागपातले पखाला लाग्छ; कोदो खाए जात जान्छ; मकैको च्याँख्ला खाए छिमेकीले के भन्लान् ? यी हाम्रो समाजमा सुनिने केही भ्रमहरू हुन्।
धेरै मानिसका मनमा संशय हुँदाहुँदै पनि विविध कारणले सोधखोज गरी वास्तविकता पत्तो लगाउनेतिर आम मानिसको ध्यान जान सकिरहेको छैन । अझ समाजमा वौद्धिक एवं प्रतिष्ठित मानिएका व्यक्तिहरूले आफूले बोलेका कुराले अरुलाई के प्रभाव पर्छ भन्ने विचार नगरी बोलिदिँदा यस्ता भ्रमले हाम्रो समाजमा एक तरहको वैधानिकता ग्रहण गर्न सघाइरहेको छ।
खानपानका सम्बन्धमा चेतनाको अभावले भ्रम सिर्जना हुनु एउटा पक्ष हो तर सोधखोज गर्न सक्ने र चेतना भएका मानिसले नै त्यसरी प्रमाणहीन कुरालाई अनुशरण गरिदिँदा वा हो हो मिलाइदिँदा सारा समाजमा त्यसको असर परिरहेको छ । यस्ता वाक्यले समाजमा भ्रम गाढिन मदत पुगेको छ । आज यस्तै विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ।
हाम्रो समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने थुप्रै आहानहरू अझै दिनहुँ प्रयोगमा आइरहेका छन् । उदाहरणका रूपमा ‘जात फाल्नु गहतको झोलमा’, ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’ भन्ने उखानलाई लिन सकिन्छ । समाजका केही मानिसले यस्ता उखानलाई प्रयोग गरिदिँदा उच्च प्रोटिनयुक्त गहतको दाल र च्याउ ‘तुच्छ’ खाद्य सामग्रीमा सूचीकृत हुन पुगेका छन्।
भन्टा खाए वैगुन हुन्छ भन्ने उक्तिबाट प्रभावित भएर भन्टा देख्नासाथ घुँडा दुख्न थालेको महसुस गर्ने मानिसको पनि हामी कहाँ कमी छैन।
जबकि भन्टामा प्रशस्त लौहतत्त्व, भिटामिन ए र सीका साथै फोलिक एसिड पनि पाइन्छ । गर्भवती महिलाको लागि यी सबै साह्रै लाभदायी मानिन्छन्।
त्यसैगरी ‘मुला खाइ वन पस’ भन्ने भनाइलाई एउटा सोच मानेर थुप्रै मानिस विशेष गरी बालबालिका र युवा वर्ग मुला वा त्यसका परिकार खान त्यति रुचाउँदैनन् । मूलाको गुणको कुरा गर्नुपर्दा यसमा प्रशस्त पानीको मात्रा हुनाले धमनी सफा राख्न मदत पुर्‍याउँछ । यसबाट प्राप्त रेसादार तत्वले चयपचय (मेटाबोलिजम)मा सहयोग गर्दै पाइल्सको जोखिम कम गर्न सहयोग गर्छ । साथै मूलामा पोटासियम र भिटामिन सी पनि राम्रैसँग प्राप्त हुन्छ । अझ रातो मूला त भिटामिन ए, सी, बी ६, र जिङ्कसमेतको उत्तम स्रोत हो ।
श्वास–प्रश्वासको समस्या भएकालाई उपयुक्त हुने फोलिक एसिड र लौह तत्व प्रशस्त पाइने मुसुरोको दाललाई न्यूनस्तरको खाद्यमा गणना गर्ने मानिसहरूको पनि कमी छैन । त्यसै गरी लट्टेको साग, इस्कुस, मुला, लौका लगायतका थुप्रै खाद्य सामग्री अपहेलित खाद्य वस्तुको सूचीमा पारिएकाले तिनीहरूको उपभोग गर्दा प्राप्त हुने पौष्टिकता पाउनबाट बञ्चित हुनुपरेको छ।
यसरी हामीले परम्परागत रूपमा खाँदै/पिउँदै आएको हाम्रो परम्पागत खानपानसँग जोडिएका सोचले हाम्रो व्यवहारमा असर पार्दा आफ्नै वरिपरि पाइने पोषक खाद्य सामग्रीको कदर गर्न नसकिएको अवस्था छ।
महिलाको स्वास्थ्य र खानपानसम्बन्धी प्रकाशोन्मुख एक पुस्तक लेख्ने प्रयोजनका लागि केही प्रश्नावली तयार गरी विविध सामाजिक र भौगोलिक परिवेशका महिलालाई वितरण गरिएको थियो । शहरी, ग्रामीण, पहाडी, मधेसी, हिमाली लगायतका विविध परिवेश र भौगोलिक क्षेत्रमा वसोवास गर्ने करिब १०० जनाजति महिलाले प्रश्नावली भरेर सर्वेक्षणमा सहभागी भएका थिए।
सर्वेक्षणका लागि प्रयोग गरिएका ती प्रश्नावलीको उत्तरको विश्लेषण गर्दा हाम्रो समाजमा ‘तातो–चिसो’ भन्ने अवधारणा समेत प्रशस्त रहेको पाइयो । यससम्बन्धमा थुप्रै भ्रमहरू रहेछन् भन्ने थाहा भयो ।
यस्तै गरी सुत्केरी अवस्थाका महिलालाई दिइने खानामा थुप्रै खालका बन्देज लगाइएको पनि पाइयो । सुत्केरी अवस्थाका महिलालाई दिइएको कुनै खाना विशेषले खुट्टा सुन्निने, अनुहार फुल्ने, घाँटी दुख्ने, वायु बढ्ने, पेट गडबड हुने, अम्लपित्त बढ्छ भन्ने सोच राख्ने गरेको पाइयो ।
यस्तै सोच राख्ने परिवारका सदस्यले कतिपय उचित खाना खानसमेत बन्देज लगाउने गरेको थाहा भयो । यो बाहेक ‘आमाले हरियो सागपात खाएमा शिशुलाई चिसो लाग्ने वा पखाला चल्ने गर्छ’ भन्ने भ्रम पनि समाजमा प्रशस्तै रहेको पाइयो ।
स्पेनमा गहत
स्पेन गएका वेला एकजना साथीले राजधानी मेड्रिड घुमाउने क्रममा ‘जाडो मौसम छ तिमीलाई एउटा रैथाने रेस्टुरेन्टमा तातो सुप खान लैजान्छु’ भन्नुभयो । मेनुमा हेर्दा भाषा नबुझिने तर पैसा भने महँगै पर्ने सुप अर्डर गरियो । उत्सुकतापूर्वक प्रतीक्षा गरेको प्रसिद्ध सुप आयो । खाइयो अनि थाहा भयो, यो त गहतको दाल पो रहेछ । स्पेनमा गहतको दाललाई जाडो मौसममा विभिन्न तरकारी, मासु, अदुवा, लसुन मिसाएर एउटा पूर्ण भोजनको रूपमा खाने प्रचलन रहेछ ।
हामीले बेवास्ता गरेको दाललाई मेरो स्पेनिस साथीले वर्णन गरिन्, ‘यसमा राम्रो प्रोटिन पाइन्छ, फलाम र अन्य खनिज पनि प्रशस्त हुन्छ । शरीरबाट दूषित पदार्थको निष्कासन गर्न र जाडोमा शरीरको तापक्रम सन्तुलनमा राख्न यो अति सहयोगी छ । साथै आफ्नो शरीरको तौलमा सजग हुने व्यक्तिहरू पनि यही सुप खान्छन् ।’ अनि झट्ट सम्झें– हामी पनि त मृगौलाको पत्थर पगाल्न भन्दै यही दाल खान्छौँ । अङ्ग्रेजीमा हर्सबिन-horsebean भनिने यो दाललाई स्पेनमा ‘हवास डी कावालो’ भन्दा रहेछन् ।
म्यानमारमा गहतलाई अमिल्याएर लेदो बनाउने चलन रहेछ ।
नेपालमा भने ‘जात फाल्नु गहतको झोलमा’ भनेर गहतलाई बेवास्ता गरिन्छ । जबकि १०० ग्राम गहतमा २२ ग्राम प्रोटिन, २८७ मि.ग्रा. क्याल्सियम र अन्य धेरै तत्त्व पाइन्छ । यसलाई टुसा उमारेर खाँदा यसको पौष्टिकता झन् बढ्छ ।
विश्वमा खाद्य सामग्री र पोषक तत्व बारे व्यापक खोज अनुसन्धान हुने गरेका छन् । त्यस्ता विविध अध्ययनले आआफ्नै निचोड निकालेर निर्दिष्ट खाद्य पदार्थको फाइदा, बेफाइदा, पकाउने तरिका सुझाएका छन् । यस सन्दर्भमा स्थानीय वा रैथाने खाद्य सामग्रीको प्रयोग, उत्पादन, स्वास्थ्यमा लाभ आदि पनि थप अध्ययनका विषय बनेका छन् । फलस्वरुप यस सिलसिलामा हाम्रो सोच पनि केही हदसम्म परिवर्तन भएको देखिन्छ ।
घर बाहिर खाना खाने बढ्दो प्रचलन र स–साना नानी–बाबुमा प्याकेटमा राखिएका प्रशोधित खाना उपभोग गर्ने बानी र स्थानीय सामग्री उत्पादन गर्ने प्रयासमा कमी आदि कारणले जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्या पनि वृद्धिको क्रममा छ ।
नेपाली समाजमा सुने–बेहोरेका यस्ता थुपै आहान र सोच परिमार्जन गर्नेतर्फ सोच्नु आवश्यक रहेको देखिएको छ । केही उदाहरण यस्ता हुनसक्छन्– गुणस्तरीय प्रोटिनयुक्त च्याउलाई ‘च्याउ खाउँ मसल बनाउँ’ भन्ने कि ! त्यसैगरी अर्को गतिलो प्रोटिनयुक्त गहतको दाललाई ‘गहतको दाल पत्थरीको काल’ भनेर लोकप्रिय बनाइदिने कि ! किनभने गहतको दालको झोलले मृगौलाको पत्थरी गलाउँछ भनेर नेपाली समाजमा खाइने गरेको हामी धेरैले सुने बेहोरेकै छौं । कतिपयले त पत्थरी गलाउन भनेर खाएकै पनि हुनसक्छौं ।

लेखक ज्ञवाली विगत १५ वर्षदेखि स्वास्थ्य जीवनशैली र खानपान बारे अध्ययन अनुसन्धानमा सक्रिय हुनुहुन्छ । उहाँका दुई पुस्तकहरू नेपाली होम कुकिङ फर हेल्दी लिभिङ; र एसेन्सियल स्पाइसेस एण्ड हर्बस्: नेपाली किचन थेरापी प्रकाशित छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!