परिवारको बेवास्ता र इन्टरनेटको दुरूपयोगले अपराधतर्फ उन्मुख बालबालिका

समाजमा देखिने प्रवृत्ति र व्यवहार नै समाजले गर्ने संवादहरू हुन् । यसैबाट बालबालिकाले सिक्छन् । त्यसैले बालबालिका सुधारगृह पुग्नुभन्दा अघि उसँग संवाद गरिरहेको समाजलाई सुधार्नु जरुरी छ ।

पोखरा सराङकोटस्थित बालसुधारगृहमा (बाल कारागार) पुग्दा बालबिजाइँको मुद्दामा कैद भुक्तान गरिरहेका बालकहरू कोही क्यारोमबोर्ड खेल्दै, कोही टिभी हेर्दै, कोही कक्षामा पढ्दै त कोही बरण्डाबाटै देखिने फेवातालतिर आँखा डुलाइरहेको भेटिए।
सुधारगृहमा रहेका ९९ जना बालकहरू जबरजस्ती करणी, कर्तव्य ज्यान, लागु औषध, डाँका, चोरी, सवारी ज्यानलगायतका मुद्दामा कैद सजाय भोग्दैछन्।
१८ वर्षभन्दा मुनिका बालबालिका जोे बालबिजाइँमा संलग्न भए उनीहरूको बानी बेहोरामा सुधार ल्याउन, उनीहरूको शिक्षालाई निरन्तरता दिन, स्वास्थ्यमा ख्याल राख्न र वयस्कको कारागारभन्दा फरक वातावरणमा सजाय भुक्तान गराउनका लागि बालसुधारगृहको स्थापना गरिएको हो।
नेपालभर भक्तपुर, विराटनगर, बाँके, डोटी, रूपन्देही, हेटौडा, वीरगञ्ज र पोखरा गरी ८ ठाउँमा रहेका बालसुधारगृहमा हाल १ हजारभन्दा बढी बालबालिकाले बालबिजाइँको मुद्दामा सजाय काटिरहेका छन्।
मुलुकी अपराध (संहिता) ऐनको दफा ४५ तथा बालबालिका सम्बन्धी ऐनको दफा ३६ ले बालबालिकाको उमेर हेरेर बालबिजाइँको सजाय तय गरेको छ। जसमा कानूनबमोजिम अपराध ठहरिने कुनै काम १० वर्ष भन्दा कम उमेरको बालबालिकाले गरेमा कुनै सजाय हुँदैन। यस्तै १० वर्ष वा सोभन्दा माथि र १४ वर्षभन्दा कमलाई जरिवाना हुने कसुर गरेको भए सम्झाइ बुझाइ छाड्ने र कैद हुने कसुर गरेको भए ६ महिनासम्म कैद गर्ने वा १ वर्षसम्म बालसुधारगृहमा राखिने व्यवस्था छ। यस्तै १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा कमलाई उमेर पुगेको कसुरदारलाई हुने सजायको आधा सजाय र १६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कमलाई उमेर पुगेको कसुरदारलाई हुने सजायको दुई तिहाइ सजायको व्यवस्था गरिएकोे छ।
यौनजन्य घटनामा बालकको संलग्नता बढ्दो
जिल्ला प्रहरी कार्यालय कास्कीमा आर्थिक वर्ष ७८-७९ मा २४ वटा बालबिजाइँको मुद्दा परेको छ, त्यसमध्ये १५ वटा जबरजस्ती करणीको रहेका छन्। जबकि ७५-७६ को तथ्यांक हेर्ने हो भने ५ वटा मात्र बालबिजाइँका घटना छन् जसमा ४ वटा जबरजस्ती करणीको मुद्दा रहेको छ। कास्की जिल्ला अदालतको बाल इजालशमा बाल मनोविज्ञका रूपमा कृष्णकुमारी गुरुङ १५ वर्षदेखि कार्यरत हुनुहुन्छ। सुरुमा उहाँले बाल इजालशमा बालबालिकाले चोेरी गरेका घटनाहरू धेरै हेर्नुभएको थियो तर अहिले बाल इजालशमा अधिकांश बालबालिका लागु पदार्थ दुव्र्यसनी र जबरजस्ती करणीको घटनामा संलग्न रहेका मुद्दाहरू उहाँले हेरिरहनुभएको छ। उहाँले भन्नुभयो– ‘पहिले चोरीका घटनाहरू नै आउँथे, अहिले बालबालिकाले गरेको चोरीका घटना फाट्टफुट्ट आएका छन्, धेरै लागु पदार्थ दुर्व्यसनी र जबरजस्ती करणीका घटनाहरू छन्।’


बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएकी परियारले बालबिजाइँलाई कम गर्न बालबालिका, परिवार, समुदायमा सचेतना कार्यक्रम आवश्यक रहेको कुरामा जोड दिनुभयो । यसका साथै उहाँले बालसुधार केन्द्रमा राखिएका बालबालिकामा साँच्चिकै सुधार आए नआएका विषयमा पनि गहन अध्ययन हुनुपर्ने र त्यसै अनुरूपको कार्यक्रमहरू ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आजका बालबालिकाको यस्ता घटनाहरूमा बढ्दो संलग्नताले देशको भविष्य के हुन्छ भन्नेमा गम्भीर प्रश्न उठेको छ ।’


यता वर्षेनी बाल सुधार गृहमा पुग्ने बालबालिकाको संख्या बढ्दो छ। यसले समाजमा बढिरहेको बालबिजाइँको घटनाहरूतर्फ इंगित गर्दछ। पछिल्लो समय जबरजस्ती करणीका घटनामा बालकहरू बढी संलग्न रहेको बताउनुहुन्छ– बाल सुधारगृह पोखराकी सामाजिक कार्यकर्ता इन्चार्ज रमा शर्मा। हाल सुधारगृहमा रहेका ९९ जना बालक मध्ये ५४ जना जबरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेका छन्। जसमा १४ वर्ष मुनिका ५ जना, १४ देखि १५ वर्षका ११ जना, १६ देखि १८ वर्षका ३२ जना र १८ वर्षभन्दा माथिका ६ जना रहेका छन्। उहाँले भन्नुभयो– ‘यहाँको मात्र नभएर सबै बालसुधार गृहहरूमा अहिले जबरजस्ती करणीमा आउने बालकको संख्या बढी छ। झन् कोभिड र त्यससँगै भएको लकडाउनमा यी घटनाहरू बढेर आए।’ उहाँले घरमा मोबाइल इन्टरनेटको पहुँचसँगै केही बालबालिकाले पोर्नोग्राफी (यौन क्रियाकलापका तस्बिर तथा भिडियो) हेरेपछि त्यसैको कौतुहुलता मेट्न यस्ता घटनाहरू गर्न पुगेको बताउनुभयो। शर्माले भन्नुभयो– ‘अहिले बालबालिकामा यो ठीक हो, यो ठीक होइन भन्ने नैतिक ज्ञानको कमीले गर्दा बालबिजाइँ बढेको छ। त्यसैले पनि हाम्रो विद्यालयमा नैतिक शिक्षा र घरमा परिवारको प्रत्यक्ष निगरानीमा बालबालिका हुनुपर्छ।’
परिवारको माया र हेरचाह नहुनु प्रमुख कारण
सुधारगृहमा कार्यरत मनोपरामर्श दाता ज्योति गुरुङले बालबालिकाले मोबाइल इन्टरनेटको सरल पहुँचको दुरूपयोग गरेकाले नै यौनजन्य घटनामा बालकको संलग्नता बढेकोे बताउनुभयो। उहाँले भन्नुभयो– ‘इन्टरनेटमा यौन क्रियाकलापका भिडिओ हेरिसकेपछि उत्सुकताले सानै उमेरमा गर्ल फ्रेन्ड, ब्वाई फ्रेन्ड बनाउने गरेको पाइयो। अनि यो चिज हामीले पनि ट्राई गर्ने भनेर सहमतिमा भएका पनि छन् तर कानूनले १८ वर्षभन्दा कम उमेरमा भएको यौन क्रियाकलापलाई बलात्कार मानेको छ। यसले गर्दा उनीहरूले सजाय भोग्नुपरेको हो।’ उहाँले बालबालिकालाई मोबाइल इन्टरनेटबाट टाढा राख्ने होइन तर उनीहरूले त्यसको सही प्रयोग गरेका छन् कि छैनन् भन्नेबारे परिवारले ध्यान दिनु जरुरी रहेको बताउनुभयो।
गुरुङले बालबालिकाका लागि विद्यालयमा यौन तथा प्रजनन शिक्षाको बारेमा ज्ञान दिनु आवश्यक रहेको कुरामा जोड दिनुभयोे। उहाँले भन्नुभयो– ‘बालकहरू यसबारेमा केही थाहा नै नभए पनि उत्सुकताले नै यौन क्रियाकलाप गर्न पुगेका छन्। यसकारण पनि विद्यालयमा बालबालिकाका लागि यौन तथा प्रजनन शिक्षा दिनु आवश्यक छ।’ बालबालिका हुर्कंदै गर्दा परिवारको माया, स्नेह र हेरचाह हुनु निकै महत्त्वपूर्ण र आवश्यक रहेको मनोपरामर्श दाता गुरुङले बताउनुभयो।
अधिवक्ता तथा कास्की जिल्ला अदालतमा बाल इजालशमा समाजसेवीको रूपमा रहनुभएकी कुञ्जनी परियारले घरपरिवारले नै बालबालिकालाई समय नदिएपछि उनीहरू खराब साथीसङ्गत र इन्टरनेटतर्फ बढी आकर्षित हुने गरेको बताउनुभयो। बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएकी परियारले बालबिजाइँलाई कम गर्न बालबालिका, परिवार, समुदायमा सचेतना कार्यक्रम आवश्यक रहेको कुरामा जोड दिनुभयो। यसका साथै उहाँले बालसुधार केन्द्रमा राखिएका बालबालिकामा साँच्चिकै सुधार आए नआएका विषयमा पनि गहन अध्ययन हुनुपर्ने र त्यसै अनुरूपको कार्यक्रमहरू ल्याउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘आजका बालबालिकाको यस्ता घटनाहरूमा बढ्दो संलग्नताले देशको भविष्य के हुन्छ भन्नेमा गम्भीर प्रश्न उठेको छ।’
इन्टरनेटको लतले अपराधतर्फ उन्मुख बालबालिका
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सामाजिक सञ्जाल र इन्टरनेटको दुरूपयोगले बालबालिका आपराधिक क्रियाकलापहरूमा संलग्न हुने क्रम बढेको बताउनुभयो। उहाँले जसरी हामी बालबालिकालाई सडक प्रयोग गर्दा जेब्रा क्रसिङबाट बाटो काट्न, फुटफाथबाट हिँड्न सिकाउँछौ र उच्च जोखिम भएको स्थानमा हात समातेर हिँडाइरहेका हुन्छौं, त्यसरी नै हाम्रा नानीबाबुलाई दुर्घटनाबाट जोगाउन सुरक्षित तवरबाट अभिभावकको प्रत्यक्ष निगरानीमा इन्टरनेटको प्रयोग गर्ने बानीको विकास गर्न जरुरी रहेको बताउनुभयो।
यसैगरी उहाँले इन्टरनेटको लतमा फस्दै गएका बालबालिका उच्च जोखिममा रहेको विषयप्रति घरपरिवार र समुदाय गम्भीर हुनुपर्ने समय आएको बारेमा पनि जोड दिनुभयो। विशेषतः पारिवारिक विखण्डन, पारिवारिक झगडा, घरेलु हिंसा हुने घरपरिवारका बालबालिका सडकमा पुग्नुपर्ने स्थिति, विद्यालयमा अनुपस्थित हुनु÷नजानु, खराब साथी सङ्गतले लागु पदार्थ दुव्र्यसनी र ओसारपसारमा संलग्नता, किशोर अवस्थामा हुने शारीरिक, मानसिक तथा भावनात्मक संवेगमा आएका परिवर्तनजस्ता कारणहरूले बालबालिका अपराधतर्फ उन्मुख हुँदै गएको प्रवक्ता तिवारीले बताउनुभयो।
बाहिर निस्किएपछि समाजसेवी बन्छु’
पोखरा सराङकोटमा रहेको बालसुधारगृहमा कैद भुक्तान गरिरहेका बालकहरूको दिनचर्या सबेरै उठ्ने, ध्यान गर्ने, शारीरिक कसरत गर्ने, सुधारगृहमा रहेको विद्यालयमा पढ्न जाने, होमवर्क गर्ने, विद्यालय नभएको समयमा टिभी हेर्ने, आफ्नो सरसफाइ गर्ने, क्याराम बोर्डलगायतका अन्य खेल खेलेर बित्ने गरेको छ। कसैको परिवार वर्षमा एकपटक भेट्न आइपुग्छन्, कसैको आउँदैनन्, कसैको परिवारले महिनामा एकपटक फोन गर्छन्, कसैको त्यही पनि गर्दैनन्। उनीहरूले सबैभन्दा बढी आफ्नो परिवारको साथ र मायालाई सम्झने गरेको बताउनुहुन्छ गृहकी मनोपरामर्श दाता ज्योति गुरुङ।
बालक ‘एक’ सुधार गृहमा बसेको वर्षौं बितिसकेको छ। उहाँलाई परिवार र साथीभाइको सबैभन्दा धेरै याद आउने गरेको रहेछ। उहाँले भन्नुभयो– ‘सबैभन्दा धेरै परिवार सम्झेको छु। बाबामम्मीले पनि जे हुनु भइसक्यो अब यहाँ राम्रोसँग पढ भन्नुभएको छ।’ उहाँले सुधार गृहबाट निस्किएपछि अझै पढ्ने बताउनुभयो।
यस्तै अर्का बालक ‘दुई’ ले आफू बाहिर निस्किएपछि समाजसेवी बन्ने बताउनुभयो। हाल सुधारगृहमै रहेको विद्यालयमा उहाँ पढ्दै हुनुहुन्छ। उहाँले भावुक हुँदै भन्नुभयो– ‘आफूले पहिले गरेको काम सम्झँदा किन गरेंछु भन्ने लाग्छ तर यहाँ आएर मैले धेरै सिक्न पाएँ। अब बाहिर निस्किएपछि राम्रो काम गर्छु। समाजसेवी बन्छु, यसले नै म खुसी हुन्छु र मेरो परिवारलाई हेर्छु।’
समाज र संवादबाटै बालबालिकाले सिक्छन्
समाजले गर्ने सवांदबाटै बालबालिकाले सिक्ने र त्यसै अनुरूपको व्यवहार प्रदर्शन गर्ने बताउनुहुन्छ– चिकित्सा मनोविद् डा विजय ज्ञवाली। उहाँले बालबालिकाले यही समाजबाट सिक्ने भएकाले पहिले समाजलाई सुधार्नु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘समाजले कस्तो व्यक्तिलाई आदर्श बनाइरहेको छ ? समाजले केलाई प्राथमिकता दिएको छ ? यी प्रवृत्ति र व्यवहार नै समाजले गर्ने संवादहरू हुन्। यसैबाट बालबालिकाले सिक्छन्। त्यसैले बालबालिका सुधारगृह पुग्नुभन्दा अघि उसँग संवाद गरिरहेको समाजलाई सुधार्नु जरुरी छ।’
डा ज्ञवालीले बालकहरूमा हिंस्रक हुने किसिमको प्रवृत्तिको बिजारोपण हाम्रो घरसमाजमै हुने गरेको बताउनुभयो। उहाँले उदाहरण दिँदै भन्नुभयो– ‘छोरा र छोरीको खेलौना नै किन्ने हो भने छोराहरूको खेलौना बन्दुकजस्ता हिंस्रक किसिमका हुन्छन् यता छोरीहरूको खेलौना शान्त किसिमका गुडियाहरू हुन्छन्। यसले पनि उनीहरू भित्र हिंस्रक प्रवृत्ति थाहा नपाइँदो तरिकाले उनीहरूको मनभित्र सङ्ग्रह हुँदै गएको हुन्छ। अन्तरमनमा थुप्रिँदै गएका यस्तै उद्वेगहरू बाहिर प्रकट हुने क्रममा समाजका लागि अपाच्य व्यवहार देखिन्छन्।’

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!