नेपाली आमा स्तनपानदेखि नै छोरीमाथि गर्छिन विभेद, छोराको चाहना छोरीको स्वास्थ्य र भविष्यसँग खेलवाड भइरहेको छः अनुसन्धान प्रतिवेदन

  • नेपाली आमाहरूले छोरा जन्माउने इच्छा पूरा गर्नका लागि छोरीहरूलाई समय अगाडि नै स्तनपान बन्द गर्ने गरेको अनुसन्धानले देखाएको छ।

नेपालमा छोराको चाहनाले छोरीको स्वास्थ्य र भविष्यसँग खेलवाड गरिरहेको छ। यस सम्बन्धमा ल्यान्कास्टर युनिभर्सिटीले गरेको एक अध्ययनले नेपाली आमाहरूले छोरा जन्माउने इच्छा पूरा गर्नका लागि आफ्ना नवजात छोरीलाई जति सक्दो चाँडो स्तनपान गराउन बन्द गर्ने गरेको देखाएको छ।

अध्ययनका अनुसार औसतमा बालिकाहरूलाई बालकको तुलनामा थोरै महिनासम्म स्तनपान गराउँछन्, जसले बालिकाहरूको शारीरिक र मानसिक विकासमा प्रत्यक्ष असर पार्छ। यति मात्र होइन, आफूभन्दा माथि दिदी भएका तर दाजु नभएका बालिकाहरूको अवस्था झनै नाजुक छ। बीएमसी न्युट्रिसन जर्नलमा प्रकाशित अनुसन्धानले नेपाली शिशुको आमाको दूध पिउने समय जति कम हुन्छ, मृत्युको जोखिम त्यति नै बढी हुने देखाएको छ।

अनुसन्धानका अनुसार छोरोको चाहनाले स्तनपानको अवधिमा असर पार्ने गरेको छ किनभने यदि छोरा नभएको खण्डमा छोरा जन्माउनका लागि फेरि गर्भधारण गर्न महिलाले धेरै दबाबको अनुभूति गरेका हुन्छन्।

अनुशन्धानकर्ताहरूका अनुसार दोस्रो बच्चा जन्माउन चाहने महिलाले पहिलो बच्चालाई चाँडै स्तनपान गर्न बन्द गराउँछन्। नेपालमा, औसतमा बालकहरूको तुलनामा बालिकाहरू कम समयको लागि स्तनपान गराएको अनुसन्धानले देखाएको छ।

त्यसैगरी, बच्चाले कति समयसम्म आमाको दुध पिउन सक्छ, त्यो बच्चाको लिंगमा मात्र भर पर्दैन, यसका लागि उनका ठूला दाइदिदिको लिंग पनि महत्त्वपूर्ण हुन्छ। यति मात्र होइन, जेठी दिदी मात्र भएका बालिकाहरूले यसको मार झनै धेरै बेहोर्नुपरेको छ।

आफ्नो अध्ययनका लागि शोधकर्ताहरूले नेपालमा प्रत्येक पाँच वर्षमा सङ्कलन गरिने बाल स्वास्थ्य र पोषणसम्बन्धी राष्ट्रियव्यापी तथ्याङ्कहरू प्रयोग गरे र बच्चाको लिङ्गले पनि मृत्युदरमा प्रभाव पार्छ कि भनेर पत्ता लगाउने प्रयास गरेका थिए।

अनुसन्धानका अनुसार पछिल्लो २० वर्षमा नेपालमा शिशु मृत्युदरमा सुधार आएको छ। यद्यपि, यो सुधार बालिकाहरूमा भन्दा बालकहरूमा धेरै छिटो आएको हो। यसको मतलब समय परिवर्तनसँगै बालबालिकाको मृत्युदरमा कमी आएको कुरा सत्य हो। तर मृत्युदरमा बालक र बालिकाको मृत्युदर खाडल झनै फराकिलो भएको छ। आर्थिक अवस्था राम्रो भएका सहरी क्षेत्रमा त बालिकाको मृत्युदरको अवस्था सबैभन्दा खराब कुरा झनै उल्लेखनीय छ। यसको अर्थ हो सहरीया आमाहरू बढी विभेदकारी छन्।

मानसिकता परिवर्तन कहिले ?

जीवनको पहिलो पाँच वर्षमा बच्चाहरूको लागि पोषण धेरै महत्त्वपूर्ण छ, जुन उनीहरूको जीवन र विकासको आधार हो। यस्तो अवस्थामा शोधकर्ताहरूले बाल्यकाल र बाल्यकालमा छोरीहरू पौष्टिक खानाबाट वञ्चित भए नभएको र यदि त्यसो भएको हो भने, के यसले उनीहरूको स्वास्थ्य र मृत्युदरलाई असर गर्यो भनेर पनि जान्न खोजेका थिए ?

यसका साथसाथै शोधकर्ताहरूले बालबालिकालाई दिइने आहारलाई १६ वर्गमा बाँडेर यसको सेवनमा लिङ्गको प्रभाव परेको छ कि छैन, उनीहरूले जन्मेको पहिलो घण्टामा आमाको दूध पाएका थिए र कति समयसम्म स्तनपान गराएका थिए र उनीहरूको खानपानमा पर्याप्त विविधता छ कि छैनलगायतका विषयमा पनि पत्ता लगाउने प्रयास गरे। यति मात्र होइन अनुसन्धानको नतिजा अनुसार स्तनपानको अवधिमा लिङ्ग भिन्नताको प्रभाव भेटिए पनि आहारको उपभोग र विविधताको हिसाबले लिङ्ग भिन्नताको कुनै प्रमाण छैन।

अनुसन्धानका अनुसार दिदि वा दाई नभएका जेठा बच्चाले अन्य बालबालिकाको तुलनामा थोरै समयसम्म आमाको दूध पाएका थिए। अनुसन्धानका अनुसार अधिकांश नेपाली महिला एकभन्दा बढी बच्चा चाहन्छन्। यस्तो अवस्थामा यदि उनीहरुको पहिलो छोरी छ भने छोराको चाहनामा छिट्टै बच्चालाई स्तनपान गराउन छाड्छन्।

यति मात्र होइन, दिदि वा दाई भएका छोरीहरूको अवस्था निकै राम्रो थियो भने दिदी मात्र भएका छोरीहरूको अवस्था सबैभन्दा नाजुक थियो। अनुसन्धानले स्तनपानको अवधि बाल मृत्युदरसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको यो पनि पत्ता लगायो।

यो समस्या नेपालमै मात्र सीमित छैन। आज पनि दक्षिण एसियामा भारतजस्ता देशमा परिवारले छोरा चाहन्छन्, जसको मार छोरीले नै बेहोर्नुपरेको छ। विकासको जतिसुकै ठूला–ठूला कुरा गरौँ तर आज पनि यस विषयमा जनताको मानसिकतामा खासै परिवर्तन आएको छैन।

धेरै कम र मध्यम आय भएका देशहरूमा, अझै पनि धेरै अवस्थामा छोराहरूलाई छोरीहरू भन्दा प्राथमिकता दिइन्छ। छोराछोरीका लागि कन्या भ्रूण हत्याका घटना पनि बाहिर आएका छन्। यति मात्र होइन, शिक्षा र खानपानमा पनि बालिकालाई भेदभाव गरिन्छ, जसले उनीहरुको शारीरिक र मानसिक विकासमा असर गर्छ।

भारतको डाउनटुअर्थको हिन्दी संस्करणमा प्रकाशित ललित मौर्यको आलेखको भावानुवाद।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!