त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थोत्रा विमान: लाजको पसारो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। तपाइँले धेरैपटक यो विमानस्थलमार्फत देशभित्र वा देशबाहिर हवाई यात्रा गरिसक्नु भएको हुनुपर्छ। अन्तर्राष्ट्रिय वायुसेवाको उडान तथा अवतरणसँगै जोडिएको ६ दशक पुरानो इतिहास छ– यसको। काठमाडौं विमानस्थलबाट उड्दा अथवा अवतरण गर्दा जो कोहीको मानसपटलमा एउटा प्रश्न उठिरहेको हुन्छ– विमानस्थलको धावनमार्ग छेउछाउमा बिग्रेका थोत्रा विमान किन थुपारिएका होलान् ?
विमानस्थलको कुनाकानी ठडिएका विमान देख्नेका मनमा किन यसरी राखिएको होला भन्ने भइरहेको वेला राख्ने कार्यालयलाई पनि पन्छाउन पाए हुन्थ्यो भन्ने होला कि न होला ? भए आवश्यक प्रयत्न गर्दा रोक्ने ‘प्रक्रियागत झन्झट’ कहिलेसम्म रहिरहला आमचासोको विषय भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान तथा अवतरणका क्रममा स—सानो दुर्घटनामा परेका अथवा विभिन्न प्राविधिक समस्याका कारणबाट उडान भर्न नसक्ने अवस्थामा पुगेका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउछाउमा थन्क्याइएका हुन्।
लामो समयदेखि अलपत्र अवस्थामा रहेका केही विमानको सञ्चालक कम्पनी नै बन्द भइसकेका छन्। केही कम्पनीले पुराना जहाज मर्मत गरेर उडाउने प्रयत्न गरेका छन् भने केही लिलामीका लागि छानिएका छन् तर प्रक्रियागत झन्झटका कारण प्राधिकरणले विमानस्थल परिसरबाट कुनै पनि कवाडी विमान हटाउन सकेको छैन।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल (टिआईए) कार्यालयले प्राधिकरणसँग समन्वय गरेर थोत्रा विमान लिलामीको प्रक्रिया धेरै पटक अघि बढाए पनि कुनै टुङ्गिएका छैनन्। ‘कवाडी अवस्थामा पुगिसकेका जहाजहरू विमानस्थल धावन मार्गको पूर्वपट्टी दमकल रहेको क्षेत्रमा थुपारेर राखेका छौं’, त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने ‘पुराना जहाज लिलामीका लागि पटक पटक सार्वजनिक सूचना प्रकाशित गरे पनि थन्किएका विमान हटाउन सकिएको छैन।’


‘यति एयरलाइन्स र नेपाल वायुसेवा निगम सञ्चालन मै रहेकाले लिलामी अथवा बाँकी बक्यौता असुली केही सहज हुनसक्छ तर बाँकी हवाई कम्पनी उहिल्यै बन्द भएका छन्’, प्रवक्ता सिटौलाले भने– ‘केही त सम्पर्क मै छैनन्।’


सिटौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा विभिन्न वायुसेवा कम्पनीका करिब दुई दर्जन थोत्रा जहाज छरपष्ट छन्। वर्षौंदेखि थन्किएर बसेका विमान लिलामीका लागि टिआईएले सम्बन्धित विमान कम्पनी सम्पर्कमा नआएपछि धेरै पटक सार्वजनिक सूचना निकालेको छ। ठूलो लगानी र बक्यौता उठाउन पर्ने भए पनि कतै प्रयोगमा नआउने यी विमानको लिलामी सकार्न कोही तयार भएको छैन।
उडान तथा अवतरण चापका दृष्टिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग उसै पनि सानो छ। ‘काठमाडांैको आकाशमा प्राविधिक तथा प्राकृतिक समस्या दोहोरिइरहने भएकाले विमानहरू धावन मार्ग मै होल्ड भएर बस्नुपर्ने बाध्यता पनि रहन्छ। यो अवस्थामा यस्ता विमानले ओगटेको स्थानले हामीलाई समस्या पारेको छ’, प्रवक्ता सिटौला भन्छन्– ‘टर्किस एअरको विमान धावन मार्गमा चिप्लंदा ४ दिनसम्म पूरै विमानस्थल बन्द गर्नुपरेको अनुभव हामीसँग छ।’
२०७१ साल फागुन २० गते बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एअरको एयरबस ए–३३० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएपछि पर्याप्त स्थान अभाव कै कारण काठमाडांै विमानस्थल ४ दिनसम्म बन्द भएको थियो। उक्त विमान तत्काल क्याप्टेन बेद उप्रेतीले सम्बन्धित कम्पनीसँग सम्झौता गरेर खरिद गरेका थिए। उक्त विमान अहिले सिनामंगलमा एभिएसन म्युजियमका रूपमा रहेको छ।
त्यो टर्किस एयरलाइन्सको विमान विमानस्थलमै रोकिएको भए ठूलो समस्या पथ्र्यो, सिटौलाले भने त्यो एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १ सय ९७ फिट रहेको छ। अहिले यस्तै ठूला विमान धावन मार्गको कुनामा थन्किएका छन्। कोही पनि खरिद गर्न इच्छुक छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, धावन मार्गको कुनामा यति एयरलाइन्सको एउटा वाई १२ जहाज वर्षौंदेखि अलपत्र छ। यस्तै नेपाल वायु सेवा निगमको बोइङ ७५७ पनि लिलामीको पर्खाइमा छ। ८९ हजार घन्टा उडान भरिसकेको १९० सिट क्षमताको निगमको बोइङ ७५७–२०० सिरिज विमान लिलामी प्रक्रियामा गइसकेको सिटौलाले बताए। यो विमान निगमले सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग ऋणमा किनेको थियो। दुईवटा रोल्स रोयस इञ्जिन रहेको निगमको विमान तेस्रो पटकको प्रयासमा अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले ५.७१ मिलियन अमेरिकी डलरमा लैजाने सम्झौता गरिसकेको छ तर कोरोनाका कारण विमान मर्मत गरेर लैजाने अमेरिकी कम्पनीको प्रक्रिया लम्बिएको हो।
नागरिक उड्डयन प्राधिकरणले यस्ता थोत्रा विमान रोके बापत सम्बन्धित कम्पनीबाट शुल्क असुल्ने गरेको छ तर धेरै कम्पनी बन्द भइसकेकाले बक्यौता असुली पनि अनिश्चित छ, कवाडी विमानको लिलामी पनि अनिश्चित छ।
व्यावसायिक रूपमा टाट पल्टिएका सुधिर बस्नेतले सञ्चालन गरेको अग्नि एअरको विमान समेत विमानस्थल कार्यालयले हटाउन सकेको छैन। कम्पनी कोल्याप्स भइसकेको छ, थोत्रो विमानबाट के असुल उपर हुन्छ ? यो विमान कसले उठाएर लैजान्छ, विमानस्थलका प्रवक्ता सिटौलाले भने, कस्मिक एअरको ठूलो फोकर विमानको हालत उस्तै छ।
विमानस्थल परिसरमा यति एयरलाइन्सका दुई, कस्मिक एयरका पाँच, नेपाल एयरवेजका दुई र नेपाल वायुसेवा निगम तथा नेकोन एयरका एक–एक विमान थन्किएका छन्। नेपाल एअरवेज बन्द भएको दशक नाघिसकेको छ भने कस्मिक एअर टाट पल्टिएर बन्द भइसकेको छ। यस्तै राष्ट्रिय ध्वजावाहक एनएसीले दुई वटा थोत्रा विमान राखेर ठाउँ ओगटेको छ। सौर्य एयर र श्री एयरले पछि पटक पटक आग्रह गर्दा समेत थोत्रा विमान लगेका छैनन्, लिलामी प्रक्रियामा जाँदा झन्झट मात्रै हुन्छ। अहिले नेपाल वायु सेवा निगमको लिलाम भइसकेको एउटा बोइङ बाहेक अरु १९ वटा साना ठूला विमान विमानस्थलमा थन्किएर बसेको विमानस्थल कार्यालयले जनाएको छ।


रिमोट पार्किङ भनेको विमानस्थलमा धेरै विमान भएको समयमा उडानको तालिका मिलाउन केही जहाजलाई यो रिमोट पार्किङमा लगेर राख्नुपर्छ। विमानस्थल कार्यालयले भने रिमोट र आईसोलेटेड पार्किङ दुबै आकस्मिक प्रयोजनका लागि छुट्याइएको संवेदनशील क्षेत्रलाई कवाडखाना बनाएको छ।


त्रिभुवन विमानस्थलको पूर्वी क्षेत्रस्थित हेलिप्याड नजिकै तेर्सिएको अग्नि एअरको विमान ११ वर्षदेखि धुलोले छोपिएको विमानस्थलका अधिकारीहरू बताउँछन्। निजी क्षेत्रको उक्त जहाज कम्पनी बन्द भएको ११ वर्ष पुगेको छ। यसरी वर्षौंदेखि उडान नगरी थन्केर बसेका थोत्रा जहाजले साँघुरो विमानस्थललाई झनै साँघुरो बनाइरहेका छन्। नागरिक उड्डयान प्राधिकरणका अनुसार, अग्निका ९ एन–एआईपी (अल्फा इन्डिया पापा) र ९ एन–एआईए (अल्फा इन्डिया अस्कर) सहित ३ वटा जहाज सन् २०११ देखि ग्राउण्डेड छन्।
यति एयरलाइन्स र नेपाल वायुसेवा निगम सञ्चालन मै रहेकाले लिलामी अथवा बाँकी बक्यौता असुली केही सहज हुनसक्छ तर बाँकी हवाई कम्पनी उहिल्यै बन्द भएका छन्, केही त सम्पर्क मै छैनन्, प्रवक्ता सिटौलाले भने। नेपाल वायु सेवा निगमको एउटा विमानको पाटपुर्जा र इञ्जिन सबै निकालिएकाले, खोक्रो मात्रै धावन मार्गको कुनामा छाडेको छ। श्री एयर, सौर्य एयर तथा नेपाली सेनाको हेलिकोप्टर पनि कवाडी अवस्थामा अलपत्र छन्।
हामीले सम्बन्धित वायुसेवा कम्पनीलाई पटक पटक छिट्टै धावन मार्ग क्लियर गर्न पत्राचार गरेका छौं, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले भने– यस्ता विमान सुरक्षाका दृष्टिकोणले समस्या बन्न सक्छन्। बिग्रेका तर मर्मत गरेर उड्न सक्ने विमान रोक्नका लागि बनाइएको ठाउँमा बन्दै नबन्ने थोत्रा विमान थन्क्याईंदा यसको असर बाँकी धावन मार्गमा परेको छ।
कर्णका अनुसार विमानस्थलको पूर्व पट्टीको क्षेत्र आईसोलेटेड पार्किङका लागि बनाइएको हो। विमान भित्र बम रहेको हल्ला, अपहरण अथवा आगलागीको जोखिम भएका समयमा आइसोलेटेड पार्किङमा त्यस्ता विमान लगेर राख्नुपर्छ तर अहिले त्यो ठाउँलाई विमानस्थल कार्यालयले रिमोट पार्किङका रूपमा छुट्याएको छ। रिमोट पार्किङ भनेको विमानस्थलमा धेरै विमान भएको समयमा उडानको तालिका मिलाउन केही जहाजलाई यो रिमोट पार्किङमा लगेर राख्नुपर्छ। विमानस्थल कार्यालयले भने रिमोट र आईसोलेटेड पार्किङ दुबै आकस्मिक प्रयोजनका लागि छुट्याइएको संवेदनशील क्षेत्रलाई कवाडखाना बनाएको छ।
विमानस्थलको संवेदनशीलता बुझेर लामो समयसम्म यसरी पार्किङ गरेर थोत्रा विमान नराख्न पटक पटक सचेत गराएको सिटौला बताउँछन्। अब त्यस्ता पुराना जहाजलाई डि–रजिस्टर गरेर कवाडीमा राख्न पत्राचार गरेका छौं, चाँडै समस्या समाधान होला– सिटौलाले भने।
यसबाहेक काठमाडौ विमानस्थलको धावनमार्ग वरपर, बन्द भइसकेका कम्पनीले छाडेको मिनी बस, हाइड्रोेलिक ज्याक, भर्‍याङ, ब्यागेज, ट्रली जस्ता थुप्रै उपकरण छरिएका छन्।
‘थोत्रा जहाजले विमानस्थलको सुन्दरतामा असर पारेको छ, जहाज हटाउन सम्बिन्धत विमान कम्पनीलाई झक्झक्याएका पनि छौं’, प्रवत्ता सिटौलाले भने– ‘कुनै पनि कम्पनीले जहाजको पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क तिरेका छैनन्। सबै कम्पनीको ५ करोड भन्दा बढी बक्यौता पुगेको छ, जहाजको तौल र आकारको आधारमा पार्किङ शुल्क लिइन्छ।’
यती एयरलाइन्सले जहाज थन्क्याए बापत विमानस्थललाई शुल्क बुझाइरहेको तर अग्नि एयरको कम्पनी नै बन्द भइसकेका कारण झण्डै एक करोड शुल्क उठाउन समस्या परेको छ। ग्राउण्डेड विमान धेरै विदेशी नागरिक अथवा कम्पनीको नाममा रहेको छ। अग्नि एयरले तीन वटै जहाज भाडामा ल्याएर सञ्चालन गरेको थियो। कम्पनी बन्द भएपछि ती जहाजका मालिक पनि सम्पर्कमा आएका छैनन्। यतीको ग्राउण्डेड विमान पनि अफ्रिकी नागरिकको साब–३४० बी जहाज नेपाली आकाशमा भाडामा उडिरहेको थियो। आफू विमानस्थलको प्रवक्ता रहेको समयमा नेपाली आकाशमा ९ एन–एएचएल कलसाइन पाएको जहाज बिग्रेपछि त्यसका मालिकसँग विमानस्थल कार्यालय र यती एयरलाइन्स दुवै मार्फत सम्पर्क गर्न खोजेको तर सम्पर्कमा नआएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका हालका महाप्रवन्धक प्रेमनाथ ठाकुर बताउँछन्।
विमानस्थलको आन्तरिक टर्मिनल भवन नजिकैको ह्याङ्गर क्षेत्रमा यती एयरलाइन्सको साब–३४० बी थोत्रो विमान विगत १९ वर्षदेखि अलपत्र छ। सिम्रिक एयरलाइन्सले खरिद गरेको अग्नि एयरको डोर्नियर जहाज पनि कम्पनी टाट पल्टेपछि उड्न सकेन र उसै थन्किएर बिग्रियो। यसैगरी जहाज थोत्रिएपछि विमानस्थलमै थुपार्ने प्रवृत्तिका कारण कतिपय चल्दा चल्दै थन्किएका जहाज समेत हिउँदमा धुलोले पुरिने र वर्खा लागेपछि लेउ र खियाले सिद्धिने अवस्थामा पुगेका छन्।
नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख र मन्त्रीहरूको सवारी हुँदा टाढैबाट देखिने यी थोत्रा विमानमा ती भीभीआइपीको नजर कहिले पर्ला ?। दैनिक सयौंको संख्यामा विदेशी नागरिक ओहोर–दोहोर गरिरहेका छन्, विदेशी विशिष्ट अतिथि समेत यही धावनमार्ग भएर ओहोर दोहोर गर्ने गरेको वास्तविकता यिनीहरूलाई थाहा छैन भन्न मिल्दैन। वास्तविकता यस्तो भए पनि विमानस्थलको यो हाल भने वर्षांदेखि सुध्रिएको छैन। समस्यालाई टुलुटुलु हेरिरहने समाधान गर्न नतम्सने हाम्रो नेतृत्वले लाज पनि पचाइसकेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!