आयुर्वेदिक औषधिको साइड इफेक्ट हुँदैन भन्ने विश्वास नै अन्धविश्वास हो

मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी आदि) जस्तो लाग्दछ । आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो ।

अहिले विश्वव्यापी रूपमा आयुर्वेद उपचार पद्धतिको लोकप्रियता उचाइमा छ। आयुर्वेदप्रतिको आशा र भरोसाले यसका प्रयोगकर्ताहरू बढेका छन्, फलत: यसको व्यपार पनि बढेर गएको छ। आयुर्वेदको बढ्दो व्यपारसँगै यसप्रतिको विश्वास जुन रूपमा बढ्नु पथ्र्यो त्यो भने हुनसकेको छैन। किनभने आयुर्वेदका बारेमा छरिएका अनेकन भ्रम र अन्धविश्वासले यसो हुन दिइरहेको छैन।
विज्ञान र प्रविधिको मदत लिएर साह्रै उपयोगी र कामै नलाग्ने पत्रु सामग्रीको समेत प्रचारप्रसार भइरहेको हामीले थाहा पाएकै छौं। अर्थात् वैज्ञानिक आधार नै भएका सामग्री पनि जनजनमा पुगेका छन्। आयुर्वेदजस्तो विज्ञानपरक उपचार पद्धतिका बारेमा भने यथेष्ट र अपेक्षित विश्वास जगाउने काम हुन सकेको छैन।
आयुर्वेदीय औषधिको प्रयोग बढिरहेका वेला त्यसको ठीक ढङ्ले नियमन पनि हुन सक्नुपथ्र्यो तर त्यसो हुन नसक्दा यसप्रतिको भ्रम र अन्धविश्वासहरू झन् बढेर गए। यही कारणले आयुर्वेद चिकित्सा पद्धतिको समग्र एवं स्वतन्त्र विकासमा अवरोध सिर्जना भइरहेको छ।
कुनै बेला नेपाली र भारतीय समाजका लागि आयुर्वेदिक औषधिको अभ्यास कला थियो। त्यसबेला आयुर्वेद परम्परागत एवं सांस्कृतिक विधा मात्र थियो। अहिले समय बदलिएको छ। आयुर्वेद एउटा चिकित्सा पद्धतिको रूपमा स्थापित भइसकेको छ। विश्व स्वास्थ संगठन (डब्लुएच्ओ)ले समेत आयुर्वेदलाई एउटा स्वतन्त्र चिकित्सा पद्धतिको मान्यता दिइसकेको छ।
हाम्रो समाजमा एउटा यस्तो वर्ग पनि छ जसलाई अहिलेसम्म पनि आयुर्वेद अझै कर्मकाण्ड झैं लाग्छ र उनीहरूले आयुर्वेदलाई विज्ञानको रूपमा स्वीकार गर्न सकिरहेका छैनन्। त्यस्ता व्यक्तिहरूमा समेत आयुर्वेदप्रतिको विश्वास जगाउन र आयुर्वेदलाई सतप्रतिशत वैज्ञानिक विधाको रूपमा स्थापित गर्न यसप्रतिको भ्रम र अन्धविश्वासहरूको पहिचान र निराकरण अनिवार्य देखिन्छ।
आधुनिकीकरणको नाममा विश्वव्यापिकरण र व्यपारिकरणको प्रभावमा आयुर्वेदलाई एलोपेथीसँग प्रतिस्पर्धा गर्ने/गराउने होडमा आयुर्वेद चिकित्सा विज्ञानले आफूलाई आधुनिक विज्ञानको भाषामा स्पष्ट एवं प्रमाणिक रूपमा अनुवाद एवं तालमेल गराउन नसक्दा आयुर्वेद चिकित्सा पद्धतिप्रतिको भ्रम एवं अन्धविश्वास बढेको हो। कतिसम्म भने धेरैजनाले आयुर्वेदिक औषधिको साइटइफेक्ट हुँदैन त्यसैले भरसक अर्को औषधि खाँदिन भनिरहेका हुन्छन्। वास्तविकता भने त्यस्तै होइन, यसको पनि साइड इफेक्ट हुन्छ। यसको मूल कारण मात्रा र अनाधिकृत व्यक्तिको सल्लाहलाई मान्नुपर्ने हुन्छ। अर्काले भनेका भरमा लेवल नभएका औषधि सेवन गर्नु अर्को कारण हो।
आयुर्वेदमा वर्णित धर्म, आत्मा परमात्मा एवं जीवनशैलीको गफगाफ मात्र सबैतिर धेरै भएको र त्यस्तै विषयहरू समाजमा धार्मिक, संस्कृतिक एवं परम्परागत गतिविधिमा पनि अभ्यासमा रहेकाले आयुर्वेदलाई एउटा स्वतन्त्र चिकित्सा पद्धतिको रूपमा बुझाउन कठिन भएको छ। आयुर्वेदीय औषधीहरूमा प्रयोग हुने पदार्थहरू सामाजिक, धार्मिक, सांस्कृतिक रूपमा प्रयोग हुने र स्वेच्छाले खाने चलन भएकाले आयुर्वेदिक औषधिका घटकहरू हानिकारक पनि हुनसक्छन् भन्ने सामान्य सोचसम्म पनि कसैका मनमा नआएझैं देखिन्छ। अर्थात् आयुर्वेदिक औषधिले साईड इफेक्ट गर्न सक्छ भनेर धेरैले कल्पना नै गरेका हुँदैनन्।
सन् २०१९ मा वेलकम ओपन रिसर्च जर्नल (पबमेड इन्डेक्सड जर्नल)मा बुद्धि पौडयाल र समूहद्वारा प्रकाशित केस रिपोर्टका अनुसार काठमाडौंकी एक ३५ वर्षीय नेवार समुदायकी गृहिणी जसलाई कमलपित्त (जन्डिस), उल्टी (भोमिटिङ) र मन्द ज्वरो आइरहेको थियो। उनलाई आयुर्वेद चिकित्सकको सल्लाहमा स्वर्णभष्म खान दिइयो। उपचार गर्दै जाँदा उनी झन् सिकिस्त भइन। उनको जन्डिस झन् बढ्यो र शरीरको तौल आधा जस्तै घटेर गयो। पछि उनलाई आकस्मिक कक्ष (ईमेर्जेन्सी रुम) मा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था आयो। आकस्मिक कक्षमा विभिन्न परीक्षणहरू भए र उनको कलेजो (लिभर) फेल हुने अवस्थातिर गइरहेको निष्कर्ष निकालिएको थियो। इमेर्जेन्सीमा दुई हप्तासम्मको उपचारपछि मात्र उनको अवस्था सामान्य बनेको थियो।
आयुर्वेद औषधिको साइड इफेक्ट हुँदैन भन्ने विश्वास नै यसप्रतिको सबैभन्दा ठूलो अन्धविश्वास हो, भ्रम हो। बुझ्नु के जरुरी छ भने आयुर्वेद भनेको जडिबुटि औषधि मात्र होइन। आयुर्वेद भनेको जीवन दर्शन हो। आयुर्वेद जीवनशैली पनि हो। आयुर्वेदलाई यसरी छुट्याएर बुझ्न र बुझाउन सके धेरै खाले भ्रम र अन्धविश्वासहरूबाट मुक्त हुन सकिन्छ। आयुर्वेदका सबै पक्षलाई एकै ठाँउमा राखेर प्रचार प्रसार गरियो भने भम्र र अन्धविश्वास बढ्छ नै। हामी कहाँ जीवनशैलीलाई बेवास्ता गर्ने अनि यसो केही भयो कि पसलमा गएर मलाई यस्तो भएको छ भन्दै पसलेले जे जे दिन्छ त्यही गोली वा झोल दबाइ खाएर निको पार्ने प्रयत्न गर्ने अभ्यास छ।
आयुर्वेद वेदकै अंश भएकाले यसमा परम्परा, संस्कृति र केही कर्मकाण्डी विषय पनि समावेश छन् जसलाई धार्मिक एवं आध्यात्मिक चिन्तनको रूपमा बुझ्नु पर्दछ। यसप्रकारका चिन्तन एवं अभ्यासले आध्यात्मिक स्वास्थ्यलाई समृद्ध बनाउँछ। आत्मिक स्वास्थ्यको समृद्धिका लागि आयुर्वेदीय चिन्तन एवं साधना नै यसको विशिष्टता भए पनि यो पक्ष अहिले सामान्यजनको चासो र सरोकारको विषय होइन।
अहिलेका अधिकांश मानिसहरू ऐलोपेथी चिकित्सा पद्धतिलाई आदर्श चिकित्सा पद्धति मान्ने भएर होला धेरैको बुझाइ के छ भने चिकित्सा पद्धति भनेको ऐलोपेथी जस्तो नै हुनुपर्छ र आयुर्वेदलाई त्यसै रूपमा अपेक्षा गरिन्छ। यो अपेक्षा भन्दा पर आयुर्वेदले आत्मा र परमात्माको कुरा पनि गरिदिन्छ जसकारण आयुर्वेद धेरैलाई कर्मकाण्ड हो भन्न लाग्ने गरेको छ।


कुनै पनि आयुर्वेदिक औषधी माअमृत मात्र हुँदैन, विष पनि हुने गर्दछ । किनभने प्रभाव दिने वस्तुले दुस्प्रभाव पनि दिन सक्छ । एक स्थानमा हितकारी प्राकृतिक औषधी वा प्राकृतिक औषधीय घटक अर्को स्थानमा हानीकारक हुनसक्छ ।


ऐलोपेथीले आत्मा र आत्मिक स्वास्थ्यलाई मान्दैन त्यही भएर त्यहाँ शाररीरिक एवं मानसिक स्वास्थ्यका विषयहरू मात्र छन्। त्यहाँ आत्मिक स्वास्थ्य एवं समृद्धिको कुनै योजना नै छैन। आयुर्वेदले आत्मा र आत्मिक स्वास्थ्यलाई मान्दछ जसकारण आत्मिक स्वास्थ्यको विषयमा चिन्तन गर्नु अनिवार्य ठानिन्छ। आत्मिक स्वास्थ्य औषधिले प्राप्त हुने विषय होइन, त्यसको लागि चिन्तन र साधना नै गर्नुपर्छ। यो नै आयुर्वेद र एलोपेथीको पृथकता हो। आयुर्वेदको विशिष्टता हो। यसर्थ आयुर्वेदलाई एलोपेथी जस्तो चिकित्साको रूपमा अपेक्षा गर्नु गलत हुन्छ।
वेलकम ओपन रिसर्च जर्नल (पबमेड इन्डेक्सड जर्नल)मा बुद्धि पौडयाल र समूहद्वारा प्रकाशित अर्को केस रिपोर्टका अनुसार काडमाडौं निवासी ५७ वर्षे एकजना शिक्षक जसले उच्च रक्तचाप नियन्त्रणका लागि ३ वर्षदेखि टेन्सारिन नामक औषधि सेवन गरिरहेका थिए। ३ वर्षपछि पनि उनको रक्तचाप १४०/८० देखिएको थियो। टेन्सारिन जसको मुख्य घटक सर्पगन्धा हुन्छ जसमा रिजर्पिन नामक रसायन हुन्छ। रिजर्पिन उच्च रक्तचापको नियन्त्रण गर्न प्रयोग गरिन्थ्यो तर आधुनिक विज्ञानको अनुसन्धानहरूले त्यसको अन्य धेरै खाले साइडइफेक्ट देखाएपछि उच्चरक्तचापको नियन्त्रणमा आधुनिक चिकित्सा विज्ञानले रिजर्पिन निषेध गरिदिएको छ। पछि उक्त बिरामीलाई टेन्सारिनको सट्टा अर्कै ऐलोपेथिक औषधि दिँदा उनको रक्तचाप नियन्त्रणमा आएको थियो।
जीवनशैलीमा नै आयुर्वेद जोड्न सकिन्छ वा आयुर्वेदलाई जीवनशैली नै बनाउन सकिन्छ यो एउटा मान्यता हो। यो मान्यतालाई मनन गरिरहँदा एउटा सामान्य प्रश्न धेरैका मनमा उठ्न सक्छ– दैनिक जीवनशैलीमा नै जोड्न सकिने विषय कसरी एउटा चिकित्सा विज्ञान हुनसक्छ ? किनभने चिकित्सा विज्ञान भनेको औषधि विज्ञान पनि हो जसलाई दैनिक जीवनशैलीको रूपमा प्रयोग गरिँदैन।
८० प्रतिशत नसर्ने रोगहरू गलत जीवनशैली (दिनचर्या एवं रात्रीचर्याले) उत्पन्न भइरहेका हुन्छन्। जसको लागि दैनिक जीवनशैलीमा सही एवं स्वास्थ्यबर्धक बानी व्यहोरा जोड्नु अनिवार्य हुन्छ। खानपान र बानी व्यहोरामा परिवर्तन गरेर मात्र पनि धेरै रोगहरूबाट छुटकारा पाउन सकिन्छ।
सबै रोग औषधि खाएर मात्र निको हुन्छ भन्ने बुझाइ भ्रम मात्र हो। अत: औषधि विना पनि चिकित्सा विज्ञान हुनसक्छ भन्ने कुरा जनमानसले बुझ्नुपर्छ। अत: आयुर्वेदीय जीवनशैलीले पनि रोगहरू निको हुन्छन् तसर्थ यो पनि चिकित्सा विज्ञान नै हो।
मानिसहरूलाई आयुर्वेदका औषधिहरू भोजनकै अंग (सागपात, सलाद, अचार, चटनी, आदि) जस्तो लाग्दछ। आयुर्वेद औषधिप्रतिको यस्तो विश्वास नै आयुर्वेदीय औषधिप्रतिको अन्धविश्वासको जड हो।
वेलकम ओपन रिसर्च जर्नल (पबमेड इन्डेक्सड जर्नल–२०१९) मा बुद्धि पौडयाल र समूहद्वारा प्रकाशित अर्को केस रिपोर्टका अनुसार ललितपुर निवासी ४७ वर्षकी महिला सामान्य र साधारण खानपिन गर्दा पनि अत्यधिक मोटोपन बढेकाले अस्पतालमा जाँच गराउन गएकी थिइन। उनलाई माशंपेशी र जोर्नीहरू दुख्ने समस्या थियो जसको लागि उनी अनाधिकारिक व्यक्तिको सल्लाहमा २ वर्षदेखि लेबल नगरिएको आयुर्वेदिक भनिएको औषधि सेवन गरिरहेकी थिइन्। यसले उनको दुखाइ हराएको थियो। पछि त्यो लेवल नगरिएको औषधि प्रयोगशालामा परीक्षण गर्दा त्यसमा प्रेडनिसोलन (स्टेरोईड) फेला परेको थियो। जब उनले लेबल नगरिएको त्यो औषधि खान बन्द गरिन् उनको जोर्नीहरू सुन्निन थाले र मांशपेशीको दुखाइ पनि बढ्यो। जसलाई स्टेरोईड विथड्र्वल सिन्ड्रोम मानियो। थप जाँच गरी उनलाई वाथरोग भएको निष्कर्षमा पुगियो र त्यसै अनुसारको उपचार दिन सुरु गरियो।
आयुर्वेदिक औषधिमा राखिने घटकहरू सधैं प्राकृतिक जडिबुटिमात्र हुँदैनन्। एउटै औषधिमा पनि धेरैथरी घटकहरू हालिएको हुन्छ। जस अन्तर्गत खनिज तत्त्व र जनावरीय अवयव पनि राखिएको हुने गर्दछ। यसरी कहिलेकाहीं एउटा घटक मात्र पनि हानिकारक हुने हुन्छ भने घेरै घटक मिसाउँदा हुने क्रिया प्रतिक्रिया पनि हानिकारक हुनसक्छ।
आयुर्वेदिक औषधिको साइडइफेक्ट हुँदैन भन्ने विश्वास अन्धविश्वास मात्रै होइन यसले आयुर्वेदको अवमूल्यन पनि गरिरहेको हुन्छ। आयुर्वेदिक औषधीहरूको सार्थक प्रभाव प्राप्त गर्न त्यसप्रतिको बुझाइमा परिवर्तन आउनु जरुरी हुन्छ। कुनै पनि आयुर्वेदिक औषधी माअमृत मात्र हुँदैन, विष पनि हुने गर्दछ। किनभने प्रभाव दिने वस्तुले दुस्प्रभाव पनि दिन सक्छ। एक स्थानमा हितकारी प्राकृतिक औषधी वा प्राकृतिक औषधीय घटक अर्को स्थानमा हानीकारक हुनसक्छ। फलानोको पनि निको भयो रे, साइड इफेक्ट हुँदैन रे, उसले फलानो दबाइ यति खाएको थियो, तिमी पनि त्यही अनुसार खाउ भन्ने /भनाउने र खाने खुवाउने अभ्यास सर्वथा हानिकारिक छ र हुन्छ।
अत: आयुर्वेद औषधीप्रतिको भ्रामक विश्वासलाई छाडौं। आयुर्वेद चिकित्सा पद्धतिका विशेषज्ञ वा आधिकारिक व्यक्तिको सल्लाह लिएर मात्र आयुर्वेदिक औषधिहरू प्रयोग गर्ने अभ्यास गरौं।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!