सस्तो ब्याजदरमा ऋण लिएर रेल–वे निर्माण गर्न सकिने :प्रधानमन्त्री देउवा

सारांश :

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्न सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले रेल–वे निर्माण गर्न नसक्ने भन्दै कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल–वेमा लगानी गर्न सक्ने बताएका थिए । मुलुकमा रेलको आवश्यकता भएपनि धेरै खर्चिलो रहेको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले मुलुकका अन्य स्थानमा पनि बन्दरगाह निर्माण गर्ने बताएका थिए । उनीले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा बिशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए । बन्दरगाह निर्माणले राजधानीलाई अन्तराष्ट्रिय बजारको हब बनाउन कोशेढुङ्गा सावित हुने उनले बताएका थिए । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्द्धन र औद्योगिक विकासमार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्दरगाहलाई आयातको केन्द्रबिन्दु नभएर निर्यातको केन्द्रबिन्दु बनाउनुपर्ने बताए । उनीले रेमिटेन्स र आयातमा निर्भर अर्थतन्त्र जोखिमको बिषय भएको जिकिर गरेका थिए ।नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो ।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । सुक्खा बन्दरगाह सञ्चालनमा आएसंगै अब तेस्रो मुलुकबाट आउने माल बस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!