परम्परागत होली गीत लोपहुँदै

सारांश :

“कौन तालपर ढोलक बाजे कौन ताल मृदङग
कौन तालपर गोरिया नाचे कौन तालपर हम
जोगीरा सर र र

कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेमभाव भएका होली गीत मासिँदै गएका छन् । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद किशोरी साह बताउँनुहुन्छ । उहाँले भन्नुभयो, “होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । होली मनभित्र रहेको कुण्ठित विचार समाप्त पार्ने पर्व हो ।”

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका ७० वर्षीय बेचन विराजले परम्परागत बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएको चित्त बुझेको छैन । उनि भन्छन्, “पहिले गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकोबारे जोगिरा गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउनेहरु नै नहुँदा न ढोल र मृदङ्ग बज्छ, न त फागुगीत नै गाइन्छ ।”

“यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न् ”, वर्षौंदेखि जोगिरा गाउँदै आएका महेन्द्रनगरका ७२ वर्षीय पचकौरी साह भन्छन्, “मेरा समूहका धेरै साथीको परलोक पुगिसके, कोही थलिएका छन् । गीत गाउने रहर अझै छ तर साथ दिने कोही छैनन ।”

वसन्तपञ्चमीसँगै होली फागु पर्वको सन्देश छर्ने जोगिरा. फागु गीत अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘
जोगिरा..सररर..

कसको हातमा सुनजडित पिचकारी लोला छ र कसको हातमा अबीरको झोला रामजीको हातमा सुनजडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा फागु गीत अब मिथिलाञ्चलमा निकै कम गाइन्छ । होलिया फागु गीत गाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोपहुँदै गएपछि फागुपर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

सामाजिक छुवाछूत, ठूला साना जात र भिन्नभिन्न धर्मसंस्कृति नभनी एकअर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोपहुँदै गएर पछिल्लो समय होलीमा ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएकोमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गरे ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवना मात्र नभइ होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन । मथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत जोगिरा सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व सुरु हुने यहाँको परम्परा छ ।

जनकपुरधाम–१२ का सतीशलाल कर्ण भन्छन्, “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरती तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीत आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।

“दोहोरी गीत झैँ गाइने जोगिरा र होलीका गीतका कारण तराई–मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । ग्रामीण क्षेत्रमा कुनै–कुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ”, धनुषाका पूर्वजिल्ला समन्वय समितिका सभापति ७५ वर्षीय रामदेव यादव बनरैतले भने ।

उनका अनुसार होलीको पौराणिकता अब हराउन थालेको छ । अहिले होली गीत गाउन छाडिएको छ । होलीको तर्क, दर्शन, मौलिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङकीर्णता छाएको उहाँको भनाइ छ । अहिलेको होली भोगवादी र सहरमुखी भएकाले यसको पौराणिकतासंँग जोडिएको गीत पनि मासिँदै गएको उहाँले बुझाइ छ ।

पहिलेका बूढापाका रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा जोगिरा गाउने गरेको सखुवाबजारका सत्यनाराण साहले स्मरण गरे । अधिकांश युवा कामका लागि विदेशी मुलुक गएकाले होली गीत गाउनेहरु पनि नभएको धनुषाधाम नगरपालिकाका पर्वताका ६५ वर्षीय जयकिशोर कर्णको तर्क छ ।

उनले भने, “अहिलेको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।”

परम्परागत होली गीतमा पाइने धार्मिक तथा सद्भाव भेट्न मुस्किल छ । अहिलेको होलीमा आधुनिक र पप गीतले स्थान लिएको मिथिला नगरपालिकाका रामखेलावन महतोको अनुभव छ । मिथिलाको सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व हुने भएकाले त्यस्ता गीत संरक्षण गर्नु आवश्यकता भइसकेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको विचार
छ ।

यद्यपि केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कला परिषद् मिनापले गाउँ गाउँबाट होलियालाई झिकाएर जोगिरा प्रतियोगिता गराउँदै परम्परागत जोगाउने प्रयासमा छ ।

पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु आफूलाई देवताभन्दा ठूलो ठान्थे । तर उनका छोरा प्रह्लाद भने भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रात होलिकाको दहन गर्ने चलन छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!