उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

सारांश :

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गरेका छन् ।

नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गरेको थियो । उनले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

यसअघि, नेता पुटिनले उत्तर कोरियाको भ्रमण गरेको थियो । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए । किमले युक्रेनविरुद्ध रूसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

वासिङ्टन र उसका सहयोगीहरूले उत्तर कोरियाले युक्रेनयुद्धका लागि रूसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले रुस र उत्तर कोरियाबीचको सम्बन्ध प्रगाढ हुनु ’ठूलो चिन्ताको विषय’ भएको बताएको छ भने युक्रेनका एक उच्च अधिकारीले प्योङयाङले मस्कोलाई ‘युक्रेनी नागरिकको सामूहिक हत्या’ गर्न उक्साएको आरोप लगाएका छन् ।

बुधबार २४ वर्षमा उत्तर कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’लाई आफूले इन्कार नगरेको बताएको थियो । पुटिनले भने, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौं।

उत्तर कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् भने सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरूद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज वुलन्द पार्ने र आक्रमणविरूद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् ।

नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा प्रिय मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!