काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको र यसको निष्पक्ष छानबिन गरिनुपर्ने माग कांग्रेस नेता दीपक गिरीले संसदमा राखे ।
यस मुद्दामा निष्पक्ष छानबिनमा बाधा पुग्ने देखिएकाले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको गिरीले उल्लेख गरे् । विद्यमान सहकारी ऐनले सहकारी संस्थाका सदस्यलाई मात्र कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेपनि गैरसदस्यलाई समेत ऋण दिइएको विषय गैरकानूनी रहेको उनले दाबी गरे ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसद गिरीले मिटरब्याजपीडित, सहकारीपीडितलगायतले न्याय पाउनुपर्छ भनेर सदनभित्र र बाहिरसमेत कुरा उठाइरहेको भएपनि त्यसको अझै सुनुवाइ हुन नसकेको बताए । विभिन्न सहकारी संस्थामा भएको ठगीको विषयलाई गम्भीरताका छानबिन गर्न कांग्रेसले माग गरेको छ । स्वार्थको द्वन्द्व हुनेगरी सरकारले मन्त्री नियुक्त गरेको आरोप पनि उनले लगाए ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद सरस्वती बजिमयले देशैभर प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित भइरहेकोबारे संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ मा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति दिइनुपर्ने बताए ।