निर्वाचन आयोगले बैंशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाई भएसकेको जनाएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र ९५ लाख थान मतपत्र छपाई भइरहेको जानकारी दिएका छन् । उनले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतालाई स्पष्टीकरण सोधिएको र जवाफ आउनेक्रममा रहेको बताएका छन् । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि गत चैत ३० गते ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ सम्पन्न भएको उनले बताएका छन् । पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्राप्त नभएकाले सरकारले उपलब्द गराएको बजेटबाटै निर्वाचन सामाग्रीहरु खरिद गरिएको जानकारी दिए ।
त्यस्तै आयोगले आगामी निर्वाचनमा अपाङ्गमैत्री मतदान केन्द्र स्थापनाका लागि बिशेष ध्यान दिइएको र बिगतमा भएका कमी कमजोरीलाई सच्चाइने जनाएको छ ।