प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९-०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको प्रस्ताव छलफलका लागि पेश भएको छ ।
मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेश गर्दै मन्त्री शर्माले आगामी बजेट सन्तुलित र समावेशी हुने बताए । आर्थिक विकास ५ दशमलव ८४ प्रतिशत हासिल हुने भन्दै उहाले उत्पादनशील क्षेत्रमा लगानी गरी तीव्र आर्थिक विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । उहाले सङ्घीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यता परिधिभित्र रही सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा स्थानीय तहलाई थप जिम्मेवार र प्रभावकारी बनाइने उल्लेख गरेका छन् ।
अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर बाहेकका) सम्बन्धी प्रस्तावको यही जेठ ४ र ५ गते छलफल हुने सभामुख अग्नि सापकोटाले जानकारी दिए । बैठकमा बिभिन्न १० वटा अध्यादेश पेश भएको छ । त्यस्तै, कांग्रेसका सांसद् पुष्पा भुसालले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) लाई निलम्बन गरियोस् भनी प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधबार दिनको १ बजे बोलाइएको छ ।