८३ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने निर्णय भएको छ ।
सोमबार र मंगलबार बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र विकासका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधु प्रसाद भेटवालले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘सुनकोशी-३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने ।’
सुनकोशी-३ काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको जलाशययुक्त जलविद्युत आयोजना हो । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ । यसबाट वाषिर्क रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुनेमध्ये हिउँद याममा ६२ करोड २३ लाख युनिट उत्पादन हुने प्रक्षेपण छ ।