वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज महानगरपालिकाले रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ ।
चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको महानगरले जनाएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ राजस्व संकलन गरेको हो । महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।
महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताएका छन् । “गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ”, उनले भने । गत आवको नौ महिनामा भने रु ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व संकलन भएको थियो ।
गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन भएको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गरेको थियो ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए ।
महानगरले चालु आव २०८०/८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts