आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

सारांश :

ढोरपाटन  । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्यरूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् ।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका उनले बताए ।

मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो ।

चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता लगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, द्वितीयलाई एक लाख र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेले एक लाख पाउनेछन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!