उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

सारांश :

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको  छ ।

मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गरे । उनले भने, “रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध रहेको छ, नेपाल सरकारले नेपाल र रोमानियाबीच विद्यमान यी सम्बन्धलाई मित्रता, सहयोग र जनताको सम्पर्कको बलियो बन्धन बनाउँछ ।” मन्त्री भण्डारीले नेपालले युरोपेली सङ्घ र अन्य मञ्चहरूमार्फत रोमानियाली सरकारबाट प्राप्त महत्वपूर्ण सहयोगलाई उच्च रूपमा स्वीकार गर्ने राजदूत तानेसित बताए।

भण्डारीले भने, “नेपालले रोमानियालगायत हाम्रा द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूको समर्थन र सद्भावनामा भरोसा गर्न जारी राखेको छ ।” उनले युरोपेली सङ्घ र रोमानियाजस्ता विश्वसनीय विकास साझेदारहरूबाट ठूलो मात्रामा नेपालले स्रोत, प्रविधि समर्थन र साझेदारी चाहेको बताए ।

मन्त्री भण्डारीले भने, “रोमानिया प्रमुख व्यापार साझेदार बनेको छ, नेपालले मुख्यतया ‘कोटेड फ्ल्याट रोल्ड’ फलाम, विभिन्न कपडा र मुख्यतः प्याकेज गरिएका औषधि, कम्प्युटर र अन्य अत्यावश्यक वस्तु आयात गर्छ, हामी पारस्परिक आर्थिक लाभका लागि हाम्रा मार्ग फराकिलो बनाउने लक्ष्य राख्दै हाम्रो व्यापार सम्बन्धलाई थप अन्वेषण र विस्तार गर्न इच्छुक छौं ”

नेपाल–रोमानिया सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्दै उनले दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा प्राप्त गर्न नेपाल प्रयासरत रहेको बताए । साथै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान गर्न नेपालले व्यापार र लगानीलाई उच्च प्राथमिकता दिएको उनले जानकारी गराए।

हालै सम्पन्न लगानी सम्मेलनले लगानीका क्षेत्र पहिचान गरेको र लगानीमैत्री नीतिगत तथा कानुनी व्यवस्था गरेको मन्त्री भण्डारीले राजदूत तानेलाई जानकारी गराए ।

उनले भने, “म महामहिममार्फत रोमानियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दछु, व्यवसायी–व्यवसायी बीचको आर्थिक सम्बन्धको सुदृढीकरण गरी द्विपक्षीय र निजी क्षेत्रको अगुवाइमा आर्थिक क्षेत्रको समृद्धि हासिल गर्न सरकार प्रयत्नरत छ, नेपालको व्यापार पूर्वाधार र अन्य प्राथमिकताका विकास क्षेत्रमा थप युरोपेली लगानी आउनेमा आशावादी  छु ।”

मन्त्री भण्डारीले नेपालबाट रोमानयामा निर्यात हुने वस्तुको पहिचान र विकास गर्न द्विपक्षीय व्यापारको पर्याप्त सम्भावना रहेको जानकारी गराउँदै  यसका लागि आगामी दिनमा थप सहकार्य गर्नुपर्ने देखिएको बताए ।  

सो क्रममा राजदूत तानेले मन्त्री भण्डारीलाई रोमानिया भ्रमणका लागि आग्रह गरे । उनले रोमानियाले नेपालमा कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न चाहेको बताए । राजदूत तानेले मन्त्री भण्डारी रोमानियामा हस्तकलाका सामग्रीको बजार राम्रो रहेको जानकारी गराए । उनले नेपालबाट रामानियामा हस्तकलाका सामग्री निर्यातको वातावरण बनाउन मन्त्री भण्डारीलाई आग्रह गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!