भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइयो

सारांश :

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा जिब्रो छेड्ने जात्रा आज मनाइएको छ । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीस्थित मञ्चमा स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने परम्परा छ ।

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने गरेको छ ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको किम्वदन्ती रहेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!