काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक लेखकले संसदीय अभ्यासमा प्रधानमन्त्रीले कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जाँदा जानकारी गराउने अभ्यास रहेको बताए । उनले भने, “प्रधानमन्त्री जेठ २७ गते भारत भ्रमणमा गएर फर्किनुभयो । पाँच दिन बितिसक्दा पनि सदनलाई जानकारी दिन आउनुभएन । उहाँको भ्रमणबारे सदन अनविज्ञ हुनु राम्रो होइन । प्रमुख प्रतिपक्षको हैसियतले मैले प्रधानमन्त्री ज्यूलाई तपाईं सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने अवस्था आयो ।”
भारतमा हालै लोकसभा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएको समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल जेठ २७ गते भारतको औपचारिक भ्रमणमा गएका थिए । उनी जेठ २८ गते भारत भ्रमणबाट फर्किएका हुन् ।
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन मुलुक बाहिर गएको उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर जाने कुरा अखबार पढेर सदनले जानकारी पाउनु राम्रो नभएको बताए । उनले भने, “हामी संसदीय सार्वभौमिकताको कुरा गर्छाैं । संसदीय स्वतन्त्रताको कुरा गर्छौं । प्रधानमन्त्री सदनमा देखिनुभएको छैन । के कति कारणले उहाँ यहाँ नआउनुभएको हो ? संसदीय परम्परा तोडिएको छ । मिचिएको छ । सदनलाई मान गर्नुपर्ने अवस्थामा अपमानको स्थिति आयो ।”
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts