‘लोकतन्त्रको रक्षार्थ अदालत र प्रेस सँगसँगै उभिनुपर्छ’

सारांश :

काठमाडौँ । सूचना–प्रविधिको बदलिँदो स्थितिमा न्यायालय र पत्रकारिता विगतमा झैं जनताको लोकतान्त्रिक अधिकारको रक्षार्थ एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ ।सर्वाेच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आज आयोजित ‘अदालती रिपोर्टिङ र सञ्चारमाध्यम’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले पत्रकारले न्यायलयप्रति नागरिकका प्रश्न राख्न तथा न्यायालयले विधि र विवेकसम्मरुपमा न्याय दिन सकेमा समाजको विकासमा मद्दत पुग्ने बताएका हुन् ।


कार्यक्रममा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतले कलमको निबमा भएको अजेय शक्तिलाई पत्रकारले दुरुपयोग गर्न नहुने र न्यायालयले विकृति, विसङ्गतियुक्तरुपमा आफ्ना गतिविधि गर्नुपर्ने बताए ।

“मिडियाले देखेको सत्य कुरा निष्कलङ्करुपमा लेख्नुपर्छ, कसैलाई खुइल्याउने नियतले समाचार लेखेमा वा अदालतको हुर्मत लिने काम भएमा उदार लोकतन्त्रको मून्य र मान्यता बचाउन सकिँदैन, त्यस्तो अवस्थामा प्रेस स्वतन्त्रताको पनि रक्षा हुन सक्दैन”, न्यायाधीश राउतले भने, “प्रेस र न्यायालयबीच सहकार्य बढाउन हामी तयार छौँ, त्यो सहकार्य नियोजित स्वार्थमा आधारित नहोस् भन्ने हाम्रो चाहना हो ।”

सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयाँलले संविधानमा सूचनाको हक र प्रेस स्वतन्त्रताको हकको व्यवस्था गरिएकाले त्यसको सही कार्यान्वयनका लागि न्यायालय तथा पत्रकारिताबीचको दोहोरो संंवाद आवश्यक रहेको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको सारथिका रुपमा प्रेस रहेको जनाउँदै प्रेसमाथि कुनै पक्षले हस्तक्षेप गरेमा बचाउन सक्ने थलो नै अदालत भएको स्पष्ट गरे ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं मञ्चका पूर्वअध्यक्ष शिव गाउँलेले नागरिकका पक्षमा अदालतमाथि प्रश्न गरिरहन सक्ने गरी सत्य र तथ्यपूर्वक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । नेपाल बार एशोसिएशनका महासचिव अञ्जिता खनालले अदालती प्रयोगमा रहेका भाषा र नजिरहरुको अध्ययन गरेर पत्रकारिता गर्दा त्यो सार्थक हुने सुझाव दिइन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!