ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान दिएका छन् ।
सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन् । जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । मतदान पछि महर्जनले आफ्नो जीत सुनिश्ति रहेको दावी गरे ।
त्यस्तै ब्यञ्जनकारले ललितपुरलाई ५ बर्षभित्र सुन्दर गन्तव्यमा पुराउनका लागि मतदाताले बिचार गर्नुपर्ने बताएका छन् ।
ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए । निर्वाचनमा एक हजार ४३३ कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३० हजार ८११ नयाँ मतदाता थपिएका जनाइएको छ । योसँगै जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् ।