एजेन्सी । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा आक्रमण गरी चार प्रहरीसहित २६ जनाको हत्या गरेका र दर्जनौंलाई अपहरण गरेको छ ।
“लुटेराहरूले आइतवार गिदान बोका गाउँमा आक्रमण गरी २६ जनाको हत्या गरेका र दर्जनौं बासिन्दाहरूलाई अपहरण गरेका छन् । यसमा अधिकांश महिला र बालबालिका छन्,” काङ्कारा जिल्लाका राजनीतिक प्रशासक अनस इसाले एएफपीलाई बताए । अपहरणमा परेकाहरुको सङ्ख्या पत्ता लगाउन आफ्नो कार्यालयले काम गरिरहेको इसाले बताए ।
कात्सिना प्रहरीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ । सशस्त्र डाकुहरूले गिदान बोका गाउँमा आक्रमण गरको र १५ जना व्यक्तिको मृत्यु र दुई जना घाइत भएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
अपराधीहरूले भाग्ने क्रममा नजिकैको नकवाबो गाउँका पाँच जना बासिन्दालाई पनि गोली हानेर हत्या गरेका थिए । राष्ट्रपति बोला अहमद टिनुबुले विज्ञप्तिमा, ‘भयानक र भयावह’ आक्रमणको निन्दा गरेका छन् । सशस्त्र समूहविरुद्ध अझै धेरै कारबाही गरिने उनले बताए ।
भारी हतियारधारी गिरोहहरूद्वारा आङ्कित कट्सिना उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो । यहाँ आपराधिक गिरोहले फिरौतीको लागि सामूहिक अपहरणका साथै घरहरू जलाउने र लुट्ने काम गर्छन् ।
जाम्फारा, कात्सिना, कादुना र नाइजर राज्यहरूमा फैलिएको विशाल जङ्गलमा शिविरहरू राख्ने गिरोहहरूले पछिल्ला केही वर्षमा विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरेका घटनाहरू समाचारमा आएका छन् । डाकुले भर्खरै विशेषगरी कात्सिना र जाम्फारा राज्यहरूमा आक्रमणहरू बढाएका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts