काठमाडौँ । अभिनयको क्षेत्रमा सुनौलो सपना बुनेर चितवनको कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरबाट सजिना लामिछाने सपनाको शहर काठमाण्डौ आइपुगेकी हुन्। आफ्ना सुनौला सपनालाई सार्थकता प्रदान गर्न उनी सपनाको शहर झरेको पनि एक दशक बितिसकेको छ ।
लेख्दा र बोल्दा एक दशक बित्यो भन्न जति सजिलो छ, त्यति नै कठिन थियो उनको संघर्षको यात्रा । दश वर्षसम्मको कठिन परिश्रमकै परिणामस्वरूप उनको अबको यात्रा सहज बनेको छ । त्यसैले उनी कर्ममा विश्वास गर्छिन् । उनी भन्छिन्, ‘कुनै पनि काम गर्दा सुरुसुरुमा अप्ठ्यारो हुनु स्वभाविक हो । तर धेरैले त्यही कठिन परिस्थितीमै हरेस खान्छन् । प्रतिक्षा र निरन्तरता गर्न सक्दैनन् ।’
सुरुमा नयाँ व्यक्तिलाई यस क्षेत्रमा आउन साह्रै गाह्रो हुने गरेको उनको अनुभव छ । उनी थप्छिन्, ‘धेरै मान्छे पनि चिनिएको हुँदैन, अनि सुरुमै अभिनयका लागि अवसर पाउन पनि गाह्रो हुन्छ । त्यही भएर सानो भूमिकामा भए पनि पर्दामा देखिन पाए आफूलाई प्रमाणित गरेर देखाउँथे भन्ने लाग्छ ।’ उनी त्यही अठोटका साथ अघि बढीन्र आफूलाई प्रमाणित पनि गरेर देखाइन्। जसका कारण अहिले उनको व्यस्तता बढेको छ ।
गीति भिडियो, लघुचलचित्रमार्फत अहिले उनी यस क्षेत्रमा जमिसकेकी छिन् । निर्देशक तथा निर्माताहरुको रोजाइमा पनि उनकै नाम आउन थालेको छ । लोकदोहोरी गीत विधामा उनी निकै रुचाइएकी मोडल हुन्। यद्यपि उनले आफूलाई अभिनयमा मात्रै सीमित राखिनन्। गीतमा संगीत भर्ने, शब्दलाई मार्मिक बनाउने र गीत संगीतलाई बजारमा पुर्याउने, भिडियो निर्देशन गर्ने तथा भिडियो बनाउने काममा पनि उनी त्यत्तिकै निपुण छिन् ।
मोडलिङ आफ्नो रुचिको विषय भएको बताउने लामिछाने संगीत व्यवसायी समेत बनेकी छन् । काठमाडौंको अनामनगरमा उनको म्यूजिक सिटी डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा छ । त्यस्तै, सम्मान डिजिटल क्रिएसन म्युजिक कम्पनी पनि उनले नै सञ्चालन गरीरहेकी छिन् । उनले भनिन्, ‘गीत संगीतमा केही गर्नुपर्छ भन्ने मान्यताले नै व्यवसायतर्फ पनि लागे ।’ सामाजिक क्षेत्रमा पनि समय दिँदै आएकी सजिनाले अप्ठ्यारोमा परेका सबैलाई सहयोग गर्दै आएकी छन् ।
उनले कोभिड– १९ को संकटपूर्ण घडीमा संगीतकर्मीको उचित व्यवस्थापन एवं राहत वितरणको कार्य समेत गरिन् । उनले ‘पराइको डोली‘ छोडी जाने निष्ठुरी’, ‘आफ्नोमनलाई आफैले समाल न सानू’, ‘सानू तिम्रो गाउँ’, ‘नगर न चिसो मेरो मन’, ‘देखायौ नि मायामा प्रदेशीको पीडा’, ‘रुदै पर्खेर भन्दिन म दुखमा सबै रुनुपर्छ’, ‘भन्थेउ नि मायाले पिर नगर सानू’, ‘परदेशी भुलिग्यो’,‘बाध्यता’, तथा ‘आउ बस आडैमा’ तीज गीत, दसैं लगायतका थुप्रै गीतमा अभिनय गरेकी छन् ।
‘पैसाको बिटो’ गीति भिडियोमा अभिनय गरेबापत् निमा अवार्डले उनलाई सर्वोत्कृष्ट अभिनेत्री अवार्ड प्रदान गरेको थियो । उनले यसअघि सगरमाथा म्युजिक अवार्ड २०७६, दोस्रो अन्तर्राष्ट्रिय छायाछवि अनर अवार्ड २०७६ समेत प्राप्त गरेकी छन् ।
त्यस्तै,उनलाई हालै सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्ड– २०८० ले पनि गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै कदरपत्रसहित सम्मान गरेको छ । सोही दिन उनले अभिनय गरेको ‘सबैले छोडेर गए’ बोलको आधुनिक गीत समेत सार्वजनिक भएको थियो । गीत संगीतको क्षेत्रमा यहाँसम्म पुग्न धेरै कठिनाइ र दुःखहरू भोग्नुपरेको बताउँदै उनले नयाँ साथीलाई त्यो दुःख भोग्न नपरोस् र ठगिन नपरोस् भन्दै नयाँ प्रतिभालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताइन् । सजिना लामिछानेको यो संघर्षको कथा र सफलताको यात्रा नयाँ पुस्ताका लागि प्रेरणादायक बनेको छ । उनले प्रमाणित गरेकी छन् कि मिहिनेत, धैर्य र निरन्तरताको फल अवश्य मिठो हुन्छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts