बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसरमा राखिने

सारांश :

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिने भएको छ।

बुधबार बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाणलाई टेकु हिरासतमा राखिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।

खाणसँगै पक्राउ परेका उनका पिए नरेन्द्र केसीलाई पनि यहीँ राखिएको छ।

परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरू दुवैलाई केही समयअघि मात्र त्यहाँ लगिएको हो। दुवै जनालाई सामान्य तरिकाले नै हिरासतमा राखिएको उनले बताए।

‘उहाँहरूलाई अरूलाई जस्तै सामान्य तरिकामा राखिएको छ। विशेष केही छैन। यो भवनमा अलग्गै ठाउँ पनि छैन। सुरक्षा चुनौती वा अरू केही आवश्यक परेको खन्डमा भने व्यवस्था गर्नेछौं,’ कार्कीले भने।

काठमाडौं जिल्ला अदालतले खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार उनलाई सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिने तयारी भएको प्रमुख अच्यूतमणि न्यौपानेले जानकारी दिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले अब १४ दिनभित्र अनुसन्धान बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!