बाँकेको नरैनापुरमा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला

सारांश :

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसका बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिए ।

उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य भएको बताए । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयोे”, उनले भने ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको बताए । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ । उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए ।

यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!