देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी

सारांश :

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए ।

रोजगारी प्रवद्र्धनका रुपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे ।

मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रुपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

नगरप्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गरे । सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र यहाँको रोजगारीको अवस्था बुझ्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकको भनाइ थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!