काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छन् ।
सोमबार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको उल्लेख गरिन् ।
उनले जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् । उनले यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान आवश्यक रहेको पनि बताइन् । उनले अहिलेसम्म प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्न जरुरी रहेको बताइन् ।
‘हामी अहिले नयाँ समयमा छाँै । नयाँ समयमा गइसकेपछि हामीले त्यही ढंगबाट अघि बढ्नुपर्छ । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छाँै । जातिय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेका छौँ । तर त्यो कुरा आजका दिनमा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन’, मन्त्री शर्माले भनिन्, ‘व्यवहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ यस्ता कुरालाई सरकारी मिडियामार्फत जनसमक्ष लैजान सक्यौँ भने मलाई लाग्छ सचेतनाको पक्षमा राम्रो भुमिका निर्वाह गर्दछ । आजका दिनमा आउँदासम्म हामीले प्राप्त गरेका उपलब्धिहरुलाई जोगाउन जरुरी छ ।’
गोरखापत्र संस्थानको संरचनागत अवस्था र व्यवस्थापन पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र बजारको व्यवस्था गर्नुपर्ने समय आएको बताइन् । उनले सरकारी मिडियाहरु सरकारका भजनमण्डलीका रुपमा मात्रै रहनु नहुने बताइन् । उनले सरकारी मिडियाहरु सरकार र जनताबीचको पुल बन्न सक्नुपर्ने बताइन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts