बलेवा । जिल्ला प्रशासन कार्यालयसँग कार्यालय परिसरमा झण्डै दुई रोपनी जग्गा छ । भवन र आसपासका संरचनाबाहेक साना ठूला गरी २५/३० सवारीसाधन पार्किङ गर्न मिल्छ । यसअघि मूल ढोका बन्द हुँदा सेवाग्राहीले सडकमै पार्किङ गरेर सेवा लिँदै आएकामा अहिले प्रशासनले मूल ढोका खोल्न थालेको छ ।
जिल्लास्थित मालपोत कार्यालय परिसरमा पनि प्रशासनकै हाराहारीमा जग्गा छ । मुख्य भवन र अन्य केही संरचना बाहेकको जग्गामा तरकारी र फलफूल खेती गरिएको छ । मालपोतको कामका लागि आउने सेवाग्राहीले मूलगेटमा सवारी रोकेर सेवा लिन्छन् । कार्यालय परिसरभित्र सेवाग्राहीलाई पार्किङ निषेध गरिएको छ । कार्यालय परिसरमा पार्किङको प्रयास गरेपनि कर्मचारीले प्रवेश निषेध गर्ने गरेका सेवाग्राहीको गुनासो छ ।
आवारोडमा रहेको नेपाल टेलिकममा जग्गा लथालिङ्ग छ । आडैमा रहेको पर्यटन कार्यालय, त्यसको केहीपर धौलागिरि अस्पतालसँग पनि पर्याप्त जग्गा हुँदाहुँदै पनि सर्वसाधारणले पार्किङका लागि उपभोग गर्न पाउँदैनन् ।
कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिइएको छ । कार्यालयमा पुगेका सेवाग्राहीले सडकमै सवारी पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको जिल्लास्थित ट्राफिक कार्यालयका प्रमुख सुमन न्युरैले बताए । कम्तीमा सरकारी कार्यालयले सेवाग्राहीलाई सवारी पार्किङको सुविधा दिए बजार क्षेत्रमा हुने ट्राफिक जामको समस्या आधा कम हुने उनको भनाइ छ ।