Kathmandu Police SP Dinesh Raj Mainali as per his experience regarding different teenage related Police cases, “सर्वप्रथम त तपाइहरुलाई नतिजाको लागि धेरै धेरै शुभकामना छ, अनि सँगसँगै बधाई पनि किनकी तपाइको परिवारमा आज तपाइ एक जिम्मेवार र परिपक्व सदस्यको भूमिकामा उभिने क्रममा हुनुहुन्छ। जीवन रमाइलो छ र प्राज्ञिक जिवनको लामो सङ्घर्षको यात्रामा तपाइ निस्कन लाग्नु भएको छ। बिहानीले दिनलाई दिशानिर्देश गर्दछ भने झै यस पावन भूमिमा जन्मी, हुर्की, बढी, पढी आज SEE Graduate हुने क्रममा भाइ/बहिनीहरुलाई अहिलेको यो महत्वपूर्ण समय अर्थ पक्कै थाहा हुनेछ। मलाइ लाग्छ अहिलेसम्मको तपाइको जीवनयात्रामा तपाइ अभिभावक र साथीहरुको सहयोगमा आफ्नै गतिमा हिँडिरहनु भएको थियो होला तर आउने भविष्यमा तपाइको आफ्नै योजना, आकांक्षा, सपना र गन्तव्यहरू त छँदैछन् सँगसँगै परिवार समाज र देशप्रति समेत तपाइका केहि कर्तव्य र जिम्मेवारीहरु पनि रहनेछन्।
तपाइहरुलाई थाहा नै होला, लागू औषधको अवैध ओसारपसार र दुर्व्यसनले आज हाम्रो घर, परिवार, समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै नराम्रोसँग गाँजिरहेको छ। सामान्यतया तपाइहरुको उमेर (१३ वर्षदेखि १९ वर्षसम्म) का युवा तथा उर्जावान दाजु-भाइ /दिदी-बहिनीहरू लागू पदार्थको कुलतमा डुबेका पाइन्छन् र आफ्नो जीवनलाइ कष्टकर बनाइरहेका छन्। तसर्थ, लागू औषध कसैले पनि प्रयोग नगरौं। प्रयोग गर्ने गरेको भए आजैको दिनबाट बन्द गरौं। लागू औषधको उत्पादन, ओसार-पसार, भण्डारण, खरिद- बिक्री तथा सेवनजन्य कार्य दण्डनीय अपराध (पन्ध्र वर्षदेखि जन्म कैदसम्म र पाँचलाख रुपैयाँदेखि पच्चीसलाख रुपैयासम्म जरिवाना) हुने भएकोले यस्ता कार्य कसैले पनि नगरौ।
त्यस्तै प्रकारले साइबर अपराधमा पनि तपाइका उमेरसमूहका भाइ बहिनीहरु जानी नजानी धेरै नै संलग्न भएको पाइन्छ। सामाजिक सञ्जाल र वेवसाइटहरु प्रयोग गर्दा समेत घ्यान पुर्याउनु हुन तथा आफ्ना साथीहरुलाई छेडखानी (Cyber bullying) गर्ने, हैरानी दिने, अरुको गोपनीयता भङ्ग गरिदिने, सोसल साइट ह्याक गरि दिने, अनाधिकृत तवरले अरुको वेव साइटलाई ह्याक गर्ने, बिभिन्न प्रकारका अनलाइन गेममा संलग्न भई आफू र आफन्तजनको समयलाई नष्ट गर्ने, धन सम्पत्तिको बर्वादी गर्ने जस्ता कार्यबाट टाढै रहौ। साइवर अपराधको कसूरमा संलग्न उपर पाँच वर्षसम्म कैद र दुई लाखसम्म जरिवाना हुने प्रावधान रहेकोले आफू जोगिई अरुलाई जोगाउनु नै बुद्दिमतापूर्ण हुनेछ।
मातृ देवो भव ! पितृ देवो भव !! गुरु देवो भव!!! को आदर्श वाक्यलाई हृदयङ्गम गरी सम्पूर्ण बिद्यार्थी भाइ बहिनीहरुले जसरी माता, पिता र गुरुको आदर सम्मान गरी आफ्नो भविष्यलाई उज्ज्वल बनाउनेतर्फ आफ्नो बालपनलाई खर्चिनु भएको छ, त्यसरी नै आउने दिनहरुमासमेत उपर्युक्त आदर्श वाक्यको मर्मलाई आत्मसात गरी सुनौलो भविष्य कोर्न हुन पनि तपाइहरुलाई बिनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। जसरी नङ र मासुको सम्बन्ध प्रगाढ छ, त्यसरी नै जनता र प्रहरीबीचको सम्बन्ध रहेको हुन्छ।
SOURCE – ROUTINE OF NEPAL BANDA